काभ्रे — नसर्ने रोग रोकथामका लागि काभ्रेमा स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ । नसर्ने रोगको संख्या वृद्धि हुँदै गएकाले यसको रोकथाम गर्न स्क्रिनिङ अभियान आइतबारबाट सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।
स्क्रिनिङ अभियान जिल्ला प्रशासन कार्यालय काभ्रेबाट शुभारम्भ गरिएको हो । श्रेष्ठका अनुसार ३० वर्षभन्दा माथि उमेर समूहमा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएको छ । ‘उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), रक्तचाप, मधुमेह, किड्नीको परीक्षण गरिनेछ,’ उनले भनिन्, ‘स्क्रिनिङबाट नसर्ने रोगको पहिचान भएकाहरुलाई परामर्श गरिनेछ ।’
अभियान जिल्लाको १३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ । यस कार्यक्रमले नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको उनले बताइन् । अभियान फागुनभर चल्नेछ ।
