हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिका–९ स्थित नामटारको कपचेरी र घैराङडाँडा जोड्ने 'ग्राभिटी रोपवे'को तार चुडिँदा ६ महिनादेखि स्थानीय बासिन्दा समस्यामा परेका छन् । बिनाविद्युत् र इन्धनबाट चल्ने ग्राभिटी रोपवे भदौ १४ देखि बन्द छ ।
रोपवेको तार परिवर्तन गरेर मर्मत गर्न नसक्दा स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु बजारसम्म पुर्याउन र आवश्यक सामान बजारवाट गाउँमा लैजान समस्या भएको घैराङडाँडाकी ठूलीमाया रुम्बाले बताइन् । ‘६ महिना भइसक्यो, अहिलेसम्म मर्मत हुन नसक्दा हामीलाई समस्या भएको छ,' उनले भनिन् ।
रोपवेको तार मर्मत गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर अहिलेसम्म वडा र पालिका कार्यालयले चासो नदिएको स्थानीयको गुनासो छ ।
एक हजार दुई सय १४ मिटर लामो ग्राभिटी रोपवे निर्माण भएपछि सडक सञ्जाल नपुगेको घैराङमा तरकारी तथा स्थानीयस्तरमा उत्पादित खाद्यान्न बजारसम्म पुर्याउन र बजारबाट घरायसी सामग्री ल्याउन सहज भएको थियो । हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत करिब २ मिनेटमै सामान ओसारपसार गर्न सकिने भएपछि स्थानीयले काउली, आलु, मुला, बन्दालगायतका तरकारी र अन्न नामटार बजारसम्म झार्ने गरेका थिए । तरकारी उत्पादनबाटै किसानले वार्षिक २ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने कैलाश गाउँपालिका-९ का अध्यक्ष भुवनसिंह घलानले बताए ।
२०७१ सालमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको लागत सहभागितामा २५ लाख ५२ हजार रुपैयाँमा रोपवे निर्माण गरिएको थियो ।
रोपवे सञ्चालनका लागि उपभोक्ता समितिमार्फत ठेकेदारलाई जिम्मा लगाइएको थियो । यसबीच चार-पाँचजना ठेकेदार फेरिए । तर, कुनै पनि ठेकेदारले उपभोक्ता समितिलाई हिसाब–किताब देखाएका छैनन् । ठेकेदार पैसा उठाएर सम्पर्कविहीन भएपछि रोपवे मर्मत गर्न समस्या भएको वडाध्यक्ष घलानले बताए । 'वडा कार्यालयले सञ्चालन गर्न खोज्दा उपभोक्ता समितिले नदिएकाले मर्मत गर्न समस्या भएको हो,' उनले भने ‘सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंलाई रोपवे मर्मतका लागि अनुरोध गरेका छौं ।’
मर्मतका लागि आर्थिक सहयोग गर्न वडा कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म सुनुवाइ नभएको रोपवे उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिंह रुम्बा बताउँछन् । ठेकेदारले समितिलाई रकम नबुझाएकाले मर्मत गर्न समस्या भएको उनको भनाइ छ ।
रोपवेमा रहेका दुईवटा भारी बोक्ने क्यारीमार्फत माथिबाट ८० केजी र तलबाट ३० केजी एकैसाथ ढुवानी गरेको थियो । घैराङडाँडाबाट एक मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेसनमा सामान ढुवानी हुन्थ्यो । दुई घण्टाको बाटोमा रोपवेमार्फत दुई मिनेटमै ढुवानी हुने भएपछि स्थानीयलाई सहज थियो । रोपवेबाट प्रतिकिलो २ रुपैयाँमा सामान ढुवानी हुने गरेको थियो ।
