पत्रकार पाठकको निधन

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Journalist Pathak passed away

चितवन — चितवनका पत्रकार भूपराज पाठकको निधन भएको छ । ब्लड क्यान्सर र क्षयरोगबाट पीडित पत्रकार पाठकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्रममा निधन भएको हो ।

माडी–४, सिम्रहनी निवासी पाठकलाई २१ मंसिरमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको थियो । त्यसलगत्तै थप उपचारका लागि भारतको राजीव गान्धी अस्पताल लगिएको थियो ।

थप सुधार नभएपछि उनी भरतपुरकै क्यान्सर अस्पतालमा उपचारत थिए । उनको उपचारको लागि सार्वजनिक रुपमा आर्थिक सहयोग संकलनसमेत गरिएको थियो । नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मीसमेत रहेका पाठक ब्रेल लिपिमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित छन् । 

पाठकले माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षकसँगै लोकदोहोरी तथा हास्य कलाकारका रुपमा पनि आफ्नो परिचय बनाएका थिए । यसअघि पाठककी आमालाई पनि क्यान्सर देखिएपछि गतवर्ष भारतको नयाँदिल्ली लगेर उपचार गरिएको थियो ।

कान्तिपुर

Link copied successfully