सिन्धुपाल्चोक — जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएपछि हिउँ खेल्नका लागि बाह्य तथा आन्तरिक पर्यटकको भीड लागेको छ । केही दिनअघिसम्म सुख्खापनले काला देखिने उच्च क्षेत्र यतिबेला हिँउले सेताम्मे भएका छन् । जसका कारण पर्यटकीय क्षेत्रमा हिउँ खेल्नेहरुको घुँइचो लागेको छ ।
चर्चित पर्यटकीय गन्तव्य ‘हन्ड्रेट डेस्टिनेशन’मा गनिएका जिल्लाको हृयोल्मोभूमि हेलम्बु, पाँचपोखरी, भैरवकुण्ड (आमाछ्योमेन) मा बुधबारसम्म हिउँ पर्न रोकिएको छैन । हिमपातपछि हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमाको शिरभेगस्थित हेलम्बु गाउँपालिका वडा ४ ग्याल्थुमबाट आमायांग्री घुम्न पुगेका स्थानीय श्याम शर्मा (एलसी)ले हिमपातका कारण हेलम्बुको डुपुसहित शिरक्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटक बढेको बताए ।
यसअघि काला पहाडमा परिणत भएका सेमिसिदाङ, गाङछम्बो, आमायांग्री, खराने, दोर्जेलाक्पाजस्ता दर्जनौं हिमश्रृंखला हिउँले ढाकिएर चाँदीझैं टल्किएका छन् । ‘हिउँ परेपछि दर्जनौं पर्यटकहरु रमाइलो गर्न आइरहेका छन्,’ उनले भने ।
हेलम्बुको शिरभेकझैं जिल्लाको हिमाली भेक जुगल, पाँचपोखरी थाङपाल, भोटेकोशी गाउँपालिकाको माथिल्ला लेकस्थित गाउँमा झण्डै २ फिट बाक्लो हिउँ जमेपछि हेलम्बुभरका गाउँका स्थानीय कंठ्याग्रीएर घरबाट बाहिर निक्लन सकेका छैनन् ।
यसअघि यहाँका स्थानीय लामा र झाँक्रीले खाग्रे गुफा, नामार्जुङका भुमे र भोटेकोशी नदीमा गएर हिमपातसहित वर्षाको माग गरेका थिए । प्राचीन थकाहृयुल्सा राज्यको रुपमा चिनिने इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरका पुराना झाँक्री न्याउरे तामाङसहित स्थानीयले आइतबार वर्षात्को माग गर्दै संसारे पूजा (स्योङ पुजा ) गरेका थिए ।
वर्षात कुर्दै पहाडका कृषक
जिल्लाका माथिल्ला गाउँभेगमा बाक्लो हिउँ परे पनि तल्ला पहाडी इलाकामा वर्षा भएको छैन । जसकारण बाली सप्रिन सकेको छैन । केही वर्षअघिसम्म हिउँले छपक्कै डाँडाकाँडा ढाक्ने यस क्षेत्रका लेकहरु यतिबेला सुख्खा छन् । हाल सिन्धुका पहाडी भेगका कृषकले आलु खनेर बेच्ने र मकै लगाउने काम थालिसकेका छन् ।
खोलाखोल्साबाट पानी डोहोर्याएर खेतसम्म पुर्याउन हानथाप हुन थालेको छ । कृषि ज्ञान केन्द्र काभ्रेको तंथ्याकअनुसार जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर ७३ हजार ७ सय १० हेक्टर जमिन खेती गर्न लायक छ । यसमध्ये ४७ हजार ४ सय हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ ।
![It snowed Fururu! [pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/-1922025080708-1000x0.jpg&w=1001&h=0)