सिन्धुपाल्चोक — जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका-१० मा पर्ने भित्री सडक खण्ड कार्कीटारबाट सुकुटे जाँदै गरेको टिपर सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार शुक्रबार बेलुका साठीमुरेमा बा ३ ख ५६६४ नम्बरको खाली टिपर खसेर ध्वस्त हुँदा ज्यान गुमाउने चौतारा साँगाचोकगढी नगर १० का ४० वर्षका यमबहादुर माझी हुन् । चालक चौतारा साँगाचोकगढी नगरपालिका-१० का ४९ वर्षका रेशमबहादुर खड्कासहित सोही वडाबासी ३२ वर्षका भक्तबहादुर माझी र ४५ वर्षे कमल कार्की भने गम्भीर घाइते भएका छन् ।
दुर्घटना लगत्तै उद्धार गरेर जिल्ला अस्पताल चौतारा लाने क्रममा बाटोमा माझीको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक उमाशङ्कर यादवले बताए । ‘बाटोमा उपचारका लागि लाने क्रममा यमबहादुरको मृत्यु भएको हो, अन्य टिपरमा सवार तीन घाइतेको हाल उपचार भइरहेको छ, स्वास्थ्य सुधारोन्मुख रहेको खबर छ, दुर्घटनाको कारण खुलेको छैन, अनुसन्धान भइरहेको छ,’ उनले भने । दुर्घटनाका घाइतेको टाउको, ढाडमा चोट लागेको र जिल्ला अस्पतालबाट थप उपचारार्थ काभ्रेको धुलिखेल अस्पताल लगिएको डीएसपी यादवले जनाए ।
मोटरसाइकल दुर्घटना हुँदा एक घाइते
शुक्रबार साँझ उता मेलम्ची नगरपालिका वडा १२ को सिन्धु खोलामा मेलम्चीबाट जिरो किलो सडक खण्डमा फटकेश्वर जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक घाइते भएका छन् ।
बा ८३ प ८८४४ नम्बरको मोटरसाइकल पल्टिँदा५६ वर्षका सूर्यबहादुर माझी घाइते छन् भने चालक मेलम्ची नगरपालिका-१२ का ४० वर्षका रामबहादुर माझीलाई सामान्य चोट लागेको छ ।
घाइते सूर्यको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
