डढेलोले सिन्धुपाल्चोकको ८२ हेक्टर वन सखाप, सबै वनक्षेत्रमा लागेको आगो नियन्त्रणमा

माघ २८, २०८१

अनिश तिवारी

The fire has destroyed 82 hectares of forest in Sindhupalchok, the fire in all the forest areas is under control.

सिन्धुपाल्चोक — डढेलोले जिल्लाको जुगल र भोटेकोशी गाउँपालिकाको माथिल्लो भेगका महत्त्वपूर्ण मानिएका वनक्षेत्र सुखाप भएसँगै आगलागी नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसंखु पाखर गाउँपालिका गरी आधा दर्जन वन क्षेत्रको ८२ हेक्टर वन डढेलोले सखाप पारेको छ । 

मानवीय क्षति नभएको र अहिले सबै वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए । ‘जिल्लाभरका गौरीशंकर संरक्षण र अन्य गरी आधा दर्जन वनमा भिषण आगलागी भएको थियो, सबै वनको डढेलो आइतबारसम्म नियन्त्रणमा आइसक्यो,’ उनले भने ।

बिहीबार लिसखुंपाखर गाउँपालिका–२ को झ्याङवारी वन, वडा ५ को चरेडाँडा मुलकखर्क सामुदायिक वन र भोटेकोशी गाउँपालिका–५ को चन्द्रंखु शेर्पा घुमेलान सामुदायिक वनमा एकै समयमा आगो लागेको थियो । त्यहाँ आइतबार आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । 

त्रिपुरासुन्दरी–१ घोर्थली गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने पुर्के डाँडा वनमा बिहीबार लागेको आगो शनिबार निभाइएको छ । यहाँ हरित स्वयंसेवक टोलीबाट आगलागी नियन्त्रण गरिएको हरित स्वयंसेवक समूहका अभियान्ता शारदाप्रसाद चालिसेले बताए । भने जुगल–२ किप्चे रहेको स्याङ्जी सामुदायिक वनमा बिहीबारदेखि लागेको आगो आइतबार नियन्त्रणमा ल्याइएको छ । 

यहाँ वनमा आगो लागेको खबर पाएलगत्तै जुगल गाउँपालिकाको ढाँडेस्थित प्रहरी चौकीबाट सुरक्षाकर्मीसहित गाउँभरका स्थानीय सामुदायिक वन जोगाउन खटिएका थिए । तीन दिनअघि जुगल–७ को सिमाना पाटीचौरको खरानेफोदन सामुदायिक वनमा डढेलो लागेको थियो । त्यहाँ पनि विकट भूगोलका कारण आगो नियन्त्रणमा ल्याउन नसकिने अवस्था भएपछि स्थानीय र सुरक्षाकर्मी फर्किएका थिए । 

हाल त्यहाँ पनि आगो निभाइएको छ । चीन जोड्ने सीमाक्षेत्र भोटेकोशी–२ को लिपिङको शिरभेग लिपिङ वनक्षेत्रमा शुक्रबारदेखि लागेको आगो वनको मध्यभागमा थियो । ‘धेरै प्रयासपछि उक्त आगो शनिबार निभाइयो । त्यहाँमात्रै ३५ हेक्टर वन सखाप भएको देखिन्छ,’ डिएसपी यादवले भने । 

लिपिङमा गत आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट पानी ओसारेर आगो पूर्ण रुपमा निभाउने प्रयास असफल भएपछि हेलिकप्टर फर्काइएको थियो । हेलिकप्टरबाट आठ सय लिटरको दरले ५४ पटक भोटेकोशी नदीको पानी ओसार्दै आगो निभाउने प्रयास गरिएको थियो । 

लिपिङ खोलामा निर्माणाधिन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडबाहिर वेल्डिङ गर्ने क्रममा लिपिङ वनमा आगो सल्किएको थियो । जुगल गाउँपालिकाको किप्चे, पाटीचौर र अन्य वनमा मान्छेले आगो लगाएको आंशकामा एक जनालाई नियन्त्रणमा लिइएको छ । किप्चेका ७० वर्षीय दाउलात स्याङ्बोलाई इलाका प्रहरी जलविरेमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully