सिन्धुपाल्चोक — जिल्लाको बलेफी गाउँपालिका-६ छातेखोलामा यात्रुवाहक बसले कारलाई ठक्कर दिँदा कार चालकसहित कारमा सवार तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार अरनिको राजमार्गको छातेखोला खण्डमा बिहीबार काठमाडौंतर्फ गइरहेको बा १८९३ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको बा १ य ११४७ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा कारका चालक रामेछाप मन्थली नगरपालिका-३ का ३९ वर्षीय निरबहादुर श्रेष्ठ , ५८ वर्षे लिलामाया श्रेष्ठ र धनुषा जनकपुर उपमहानगरपालिका-२ का ५८ वर्षकी सुजता फुयाँल घाइते भएका छन् । दुर्घटनामा बसको अगाडि र कारको छेउको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै सुरक्षाकर्मी, ट्राफिक र स्थानीय उद्धारमा खटिएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताए । ‘घाइतेलाई उद्धार गरेर यहाँको खाडीचौर बजारस्थित सिन्धु सदाबहादर अस्पतालमा उपचारार्थ लगिएको छ । उपचारपछि अहिले तीन जनाको अवस्था सामान्य रहेको खबर छ,’ उनले भने । घाइतेमध्येको दुईको पाउमा चोट लागेको उनले जनाए ।
