गौरीशंकर संरक्षण क्षेत्रको डढेलो नियन्त्रणमा

माघ २४, २०८१

केदार शिवाकोटी

Gourishankar conservation area fire under control

दोलखा — गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका–७ को सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा लागेको डढेलो नियन्त्रण आएको छ । गत माघ १५ गतेबाट लागेको डढेलो ९ दिनपछि नियन्त्रणमा आएको हो ।

डढेलोले ६ सय हेक्टर भन्दा बढी जंगलसहित रेडपाण्डा जाने क्षेत्र रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ । डढेलो नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन ७० जनाको टोली परिचालन गरिएको थियो । बुधबारदेखि खटिएको टोलीले बिहीबार डढेलो नियन्त्रणमा लिएको हो । 

डढेलो नियन्त्रणका लागि नेपाली सेना, जनपद, सशस्त्र प्रहरीसहित संरक्षण क्षेत्रको उपसमिति र स्थानीय खटिएको संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार डढेलो नियन्त्रणका लागि चारैतिबाट टोली खटिएको थियो । ‘हिजो र आज गरेर दुई दिनमा डढेलो नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘डढेलोले वन्यजन्तुको अवस्था के कस्तो छ, अध्ययन गरिरहेका छौं ।’ 

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने उक्त वनमा लागेको डढेलोको नियन्त्रण भएसँगै धूँवाले घेरिएको गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला र उत्तरका गाउँहरू खुलेका छन् । सिन्धुपाल्चोकको डढेलो जलविद्युतको प्रसारण लाइनबाट र दोलखामा मानवीय असावधानीले डढेलो खुलेको उनले बताए । डढेलो लगाउने व्यक्तिको खोजी भइरहेको उनले बताए । जंगलमा गोल पोल्न पसेका व्यक्तिहरूले गोल पोलेर आगो निभाउन बिर्संदा वनमा क्षति हुने गरेको उनले बताए ।

केदार

Link copied successfully