मकवानपुर — विभिन्न ४ वटा ऐन संशोधनका लागि बुधबार वाग्मती प्रदेशसभाको बैठकमा टेबल गरिएको छ ।
सभामुख भुवनकुमार पाठकका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६, प्रदेश खेलकुद विकास ऐन २०७५, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संशोधनका लागि प्रदेशसभामा टेबल गरिएको हो । बैठकमा श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबल गरेका थिए ।
उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबल गरेकी थिइन् ।
प्रदेश सरकारले मन्त्रालय विभाजन गरेसँगै ऐन संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको मन्त्रीहरूले जनाएका छन् । कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले पार्टीको आन्तरिक विवाद मिलाउनका लागि मन्त्रालयको संख्या वाग्मतीमा १४ पुर्याएका छन् । प्रदेशसभाको बैठक आजै दिउँसो १:३० बजे बस्ने गरी स्थगित गरिएको छ ।
