मकवानपुर — मकवानपुर जिल्लाकै एकमात्र सगरमाथा आरोही विक्रम कार्की र अमर मावि हेटौंडा–१ का प्रधानाध्यापक मालती उप्रेतीलाई सामुदायिक सम्मान २०८१ प्रदान गरिएको छ ।
रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको समापनका क्रममा बकैया–४ का कार्की र हेटौंडा–१ की उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसकेका छन् । उनी मकवानपुरकै एकमात्र सगरमाथा आरोही हुन् । अमर माविको शैक्षिकस्तर सुधार गरी उत्कृष्ट महिला प्रधानाध्यापकको रुपमा स्थापित उप्रेतीलाई रेडियोले सम्मान गरेको हो ।
उनीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरेका हुन् । सगरमाथा आरोही कार्कीले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा खुशी लागेको बताए ।
‘हिमालको आरोहण गर्नु आफैंमा चुनौतीपूर्ण काम हो । आफ्नै सोखले सगरमाथासहित ३० वटा हिमालको आरोहण गरेको हुँ’, उनले भने, ‘मसँगै सगरमाथा आरोहणको यात्रामा निस्किएका नजिकको साथी समेत गुमाएँ । मकवानपुरकै पहिलो सगरमाथा आरोही हुन पाएकोमा खुसी छु ।’
अर्का सम्मानित शिक्षिका अमर माविका प्रधानाध्यापक उप्रेतीले सम्मानका लागि योग्य ठानेकोमा खुशी लागेको प्रतिक्रिया दिइन् । ‘विगत ३ दशकदेखि शिक्षण पेशामा छु । केही वर्षदेखि हेटौंडाको अमर माविको प्रधानाध्यापक भएर काम गरिरहेको छु । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सक्दो काम गरिरहेको छु’, उनले भनिन् ।
