हिउँले हैन डढेलोको धुवाँले ढाक्यो गौरीशंकर !

माघ २१, २०८१

केदार शिवाकोटी

Gaurishankar was covered by fire smoke not snow!

दोलखा — माघको तेस्रो साता हिउँले ढाकिएर सेताम्मे हुने रोल्वालिङ हिमशृंखला हिमाली क्षेत्रमा लागेको डढेलोको धुवाँले ढाकिएको छ । शनिबारदेखि गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका– ७ को सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

यो समयमा हिउँले ढाकिने वनमा माघको पहिलो साताबाटै डढेलो सल्केको छ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने उक्त वनमा लागेको डढेलोको धुवाँले सोमबारसम्म गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला छोपिएको छ । हिमपात भएर ढाकिने डाँडामा यो वर्ष माघ पहिलो साताबाटै डढेलोले थप कालो बनेका छन् ।

हिमपात हुने मौसममा चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोको मारमा परेका छन् । तीन दिनदेखि हिमाल नजिकैको खर्कहरूमा डढेलो बढेको संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । उक्त क्षेत्र रातोपान्डा र झारलको वासस्थान पनि रहेको उनले बताए ।

‘डढेलो कसरी लाग्यो अनुसन्धान भइरहेको छ,’ उनले भने, 'डढेलो नियन्त्रणका लागि स्थानीय उपसमितिका मान्छेहरू गएका थिए,भौगोलिक विकटताका कारण निभाउन सम्भव नभएपछि टोली फर्किएको छ ।’

Gaurishankar was covered by fire smoke not snow!

डढेलो नियन्त्रण बाहिर गएको उनले बताए । त्यस क्षेत्रमा मानवीय असावधानीले डढेलो लागेको हुनसक्ने उनले बताए । ‘त्यस क्षेत्रमा विद्युत् आयोजनाका हाइटेन्सन लाइन पनि छैन, कसरी डढेलो लाग्यो भनेर प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेका छौँ,’ उनले भने, 'त्यस क्षेत्रमा भएका वन्यजन्तु डढेलोका कारण प्रभावित वनेका छन् निभाउन सम्भव देखिएन ।’

मध्य मंसिरबाट हिमपात हुने हिमाली क्षेत्रमा माघको तेस्रो साता बित्दासमेत हिमपात भएको छैन । हिमपात हुने मौसममा माथिल्लो भेगका जंगलमा डढेलो विरलै लाग्ने गर्छ ।

तीन वर्षदेखि निरन्तर यो क्षेत्रमा डढेलो लाग्न थालेको प्रमुख दाहालले बताए । यो वर्ष मात्रै २ पटक डढेलो लागिसकेको उनले बताए । तर यो वर्ष समयमा हिमपात नहुँदा उच्च हिमाली क्षेत्रका वनहरूमा माघ पहिलो साताबाटै डढेलो लाग्न थालेको छ ।

संरक्षण क्षेत्रभित्र पर्ने सिन्धुपाल्चोकको चीनसँग सीमा रहेको भोटेकोसी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको उनले बताए । संरक्षण क्षेत्रको दोलखातर्फ २ र सिन्धुपाल्चोक क्षेत्रको एउटा वनमा डढेलो लागेको उनले बताए । जसका कारण वन्यजन्तुसमेत डढेलोको चपेटामा पर्ने गरेका छन् ।

‘हिमपात हुनुपर्ने बेलामा उच्च हिमाली क्षेत्रका जंगलमा डढेलो लाग्न थालेको छ,’ उनले भने, ‘खास गरी माथिल्लो क्षेत्रका वन्यजन्तुको वासस्थानमा डढेलोले असर गरेको हुनसक्छ ।’

जंगलमा गोल पोल्न पसेका व्यक्तिहरूले गोल पोलेर आगो निभाउन बिर्सँदा वनमा क्षति हुने गरेको उनले बताए । हिमपात नभएपछि स्थानीयले वनमा जिलौटो पोल्दा हिमाली क्षेत्रमा तीव्र हावा चलेर वनमा डढेलो लाग्ने क्रम बढेको छ । 

केदार शिवाकोटी

Link copied successfully