युवकको शंकास्पद मृत्यु

माघ १९, २०८१

अनिश तिवारी

Suspicious death of youth

सिन्धुपाल्चोक — जिल्लाको भोटेकोशी गाउँपालिका-१ लिस्तीकोट सेमुङका १८ वर्षीय दिनेश विकको मृत्यु शंकास्पद देखिएको छ । शुक्रबार कोदारी राजमार्गको भ्यू पाईन्टस्थित सडकछेउमा घाइते अवस्थामा भेटिएका बिकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार घाइते बिकलाई पहिले काभ्रेको धुलिखेल अस्पतालको शाखा अस्पताल हिन्दीमा लगिएको थियो । त्यहाँबाट रिफरपछि धुलिखेल अस्पताल लैजाँदै गर्दा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकका आफन्तकाअनुसार बिक आफ्ना भाइसहित लिस्ती सेमुङ गाउँबाट निस्किएका थिए । बीचमा भाइलाई छाडेर चिनियाँ झरना देखिने कोदारी गाउँभेगमा उनी आफ्नो प्रेमिका भेट्न पुगेका थिए । त्यसक्रममा सामूहिक आक्रमणमा परेर उनी घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कोदारीबाट झर्ने सिढीबाट खसालेर निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको मृतकका आफन्तले प्रेमिका पक्षलाई आरोप लगाएका छन् । 

प्रेमिका भनिएका युवतीलाई सोधपुछ र थप अनुसन्धानको क्रम चलिरहेको जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले बताए । ‘अनुसन्धान चलिरहेको छ, घटनाबारे यो भएको हो भन्ने स्पष्ट खुलेको छैन्, थप कुरा पोस्टमार्टमपछि खुल्नेछ,’ यादवले भने । 

बिकको शव बाह्रबिसे नगरपालिका९ स्थित शवघरमा राखिएको छ । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully