काठमाडौँ — अग्लो न अग्लो पान्द्रुङ सोलीघोप्टे डाँडाको फेदमा छ एउटा जीर्ण छाप्रो । त्यही छाप्रोभित्र छन, रामबहादुर चेपाङ । नागरिकताले उनको उमेर ७८ वर्ष देखाउँछ । उनी जन्मले आफ्नो उमेर ८० वर्ष पुग्नै लागेको बताउँछन् तर उनले राज्यबाट पाउनुपर्ने वृद्धभत्ता हात पारेका छैनन् ।
चितवनको विकट पहाडी गाउँ राप्ती नगरपालिका–१३ लोथर स्यामराङका बासिन्दा रामबहादुरलाई सरकारले ६८ वर्ष पुगेका हरेक नागरिकलाई वृद्धभत्ता दिन्छ भन्ने पनि थाहा छ । उनले सुनाए, ‘तर मलाई त रहरै भो त्यो भत्ता ।’
उनी दुवै आँखा देख्दैनन् । घुडा राम्रोसँग चल्न छोडेको २५ वर्ष भइसक्यो । चार छोराका बाबु रामबहादुर अहिले साइला छोरा भीमसँग बस्छन् । जेठा छोरा र श्रीमती बितिसके । दिउँसो छोराका परिवार कामधन्दामा निस्केपछि अक्सर उनी घरमा एक्लै हुन्छन् । उनले सुनाए, ‘अब एक्लै बस्ने बानी पर्यो, आँखा र गोडा नचले पनि के गर्नु ।’
२०४६ सालको जेठ ७ मा गाउँमा आएको घुम्ती टोलीबाट उनले नागरिकता पाएका थिए ।
रामबहादुर हिँड्न सक्दैनन् । उनको घरबाट आधा घन्टा नहिँडेसम्म गाडी चढने ठाउँमा पुगिन्न् । उनले दुःख बेसाए, ‘भण्डारा बजारसम्म पुगेर खाता खोल्न पनि सक्दिनँ । घरदेखि एक घन्टा परको वडा कार्यलयसम्म पुग्न महाकष्ट छ ।’ उनको घरबाट भण्डारा बजार पुग्न गाडीका तीन घन्टा लाग्छ ।
रामका छोरा भीमबहादुर भत्ताका लागि बोकेर वडा कार्यलयसम्म पुर्याउन सके पनि बैंक खाता खोल्न भण्डारा बजारसम्म पुग्न सजिलो नभएको बताए । राप्ती नगरपालिका- १३ का वडाध्यक्ष अशोक चेपाङले कागजपत्र र आफन्तलाई आधार मानेर भत्ता पाउने विवरणमा नाम राख्न सके पनि बैंकमा खाता खोल्न व्यक्ति स्वयं नै उपस्थित हुनुपर्ने बताए ।
