सोनाम ल्होछारको अवसरमा खानीखोलामा सांस्कृतिक कार्यक्रम

माघ १५, २०८१

ज्योती श्रेष्ठ

Cultural program at Khanikhola on the occasion of Sonam Lhochar

काभ्रे — सोनाम ल्होछारको अवसरमा काभ्रेको खानीखोला गाउँपालिकामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बौद्धमार्गी तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समितिले मंगलबार कार्यक्रम गरेको हो ।

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिको संरक्षण गर्नु अहिलेको प्राथमिकताको विषय भएको बताए । उनका अनुसार, यसको संरक्षण गर्न अब तामाङ समुदाय एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यसको संरक्षण गर्न प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पालिकामा रहेका सबै समुदायका कला, संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भोलिका दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीयलगायत राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

मञ्जुश्री पात्रोअनुसार यो वर्ष मनाउने सोनाम ल्होछार २८६१ डुल (सा पुख्री) ल्हो हो । जुन तिथि अनुसार माघ १७ गते परेको छ । ल्होछार पर्व मनाउनका लागि खानीखोला गाउँपालिकाको माघ ७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिएको छ । पालिकाले १६, १७ र १८ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

साथै जिल्लाको महाभारत, रोशी, चौरीदेउराली, तेमाल, भुम्लु, बेथानचोक गाउँपालिका, नमोबुद्ध , मण्डनदेउपुर नगरपालिकाले पनि सोनाम ल्होछारको अवसरमा १६, १७ र १८ गते ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।

Cultural program at Khanikhola on the occasion of Sonam Lhochar

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully