काठमाडौँ — विश्वभरका युवाहरुलाई एउटा ठूलो प्लेटफर्म दिने उद्धेश्यका साथ काभ्रेपलाञ्चोकमा विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल) आयोजनाका हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पहलमा हुन मार्च २७ देखि ३१ तारिखसम्म युवा महोत्सव आयोजना हुन लागेको हो ।
हरेक वर्ष यो महोत्सव विभिन्न देशमा आयोजना हुँदै आएको र यो वर्ष नेपालमा गर्न लागिएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । उनले यसका लागि १० वर्षदेखि तयारी गर्दै आएको र अवको डेढ महिना भित्रमा सम्पूर्ण तयारी पूरा गरिने जनाए । काठमाडौं विश्वविधालय परिसरभित्र १ लाख युवाको सहभागितामा महोत्वसको उद्घाटन गरिने र काभ्रेका विभिन्न क्षेत्रमा अन्य कार्यक्रम गरिने उनले जनाए ।
यस महोत्सवले काभ्रेपलाञ्चोक अवको कम्तीमा केही समय विश्वव्यापी युवा सहकार्यको केन्द्रविन्दु बन्ने आयोजकको दाबी छ । नेपालमा युवाहरूको यस स्तरको अन्तर्राष्ट्रिय महोत्सव पहिलो पटक आयोजना हुन लागेको हो । यसको सफलताले नेपालमा भएका अवसर, दक्षता, चुनौतीदेखि युवाहरूलाई स्वदेशमै भएका सम्भावनाहरु बारे परिचित गराउँदै हौसला प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
७५ देशका १० हजार प्रतिनिधि यस युवा महोत्सवमा आउने छन् । त्यसमा २ सयभन्दा बढी वक्ताहरू हुनेछन् । ३ लाखभन्दा बढी युवा भेला हुने आशा गरिएको महोत्सवमा ५० भन्दा बढी विभिन्न गतिविधाका कार्यक्रमहरु हुनेछन् । महोत्सवमा आजको युवाहरू प्रभावित भएका गहन विषयमा वर्कशप गर्नुका साथै छलफल गरिने आयोजकले जनाएको छ । जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, पर्यटन, राजनीति, लिडरसिप, स्थानीय खानालगायतका विषयमा यस युवा महोत्सवमा बहस हुने आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले भने, ‘यस कार्यक्रमले विश्वभरका युवाको विचार साझेदारी गर्न, सम्बन्ध निर्माण गर्न र राम्रो संस्कारको समाधान खोज्न एकताबद्ध गर्दछ । भोलिका नेताका रूपमा तपाईसँग संसारलाई आकार दिने शक्ति छ । यो महोत्सवले एउटा मञ्चको रूपमा काम गर्दछ जहाँ संस्कृतिहरू मिल्छन्, विचारहरू फैलिन्छन् र एकता मनाइन्छ ।’
