फर्निचर उद्योगमा आगलागी हुँदा महिलाको मृत्यु

एक घर र टहरो जल्दा ९० लाख रुपैयाँ बराबरको क्षति

माघ १२, २०८१

ज्योती श्रेष्ठ

Woman dies in furniture factory fire

काभ्रे — काभ्रेमा रहेको एक फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार राति ९ बजेको समयमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागी भएको थियो ।

आगलागीमा परी उद्योगमा काम गर्ने काठमाडौँको शंखरापुर-१ नाङ्लेभारे बस्ने ७० वर्षीया टीकादेवी दंगालको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । 

उनका अनुसार आगलागीमा परी दंगालका श्रीमान् ७३ वर्षीय तोयानाथ दंगाल घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट उद्योगसँगै ढुंगामाटोले बनेको ध्रुबहादुर विकको एक तले कच्ची घर र जस्ताले बेरेको जस्ताले छाएको एक तले टहरो समेत क्षतिग्रस्त भएका छन् । 

आगलागीबाट ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully