सीमाक्षेत्र तातोपानीको दसकिलोमा एक भारतीय मृत फेला 

माघ १२, २०८१

अनिश तिवारी

An Indian was found dead in the border area of ​​Tatopani

सिन्धुपाल्चोक — जिल्लाको उत्तरी नाका तातोपानी क्षेत्रको दसकिलो भेगमा एक भारतीय शंकास्पद अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार चीन जोड्ने सीमामा मृत फेला परेका व्यक्ति भारतको मङसुपुर बैंग्लोरका ४० वर्षका विवेक गुप्ता हुन् ।

केही दिनअघि भोटेकोशी गाउँपालिका-२ घट्टेखोला पुरानो ट्रक पार्किङस्थित भोटेकोशी बगरमा गुप्ताको शव फेला परेको थियो । मृत फेला परेका गुप्ताको शिरमा टुटुल्को, हातमा डोरी बाँधिएका डाम, शरीरभरि अनेकन आलो चोटपटक देखिएको छ । 

कसैले अत्यधिक प्रताडना दिएर उनको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कोदारीबाट चार जना प्रहरी तत्काल घटनास्थलमा अनुसन्धानका लागि खटिएका थिए । हाल मृत्युको कारण नखुलेको र पोस्टमार्टमका लागि शंकास्पद शवलाई बाह्रबिसे नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ । यसबारे इलाका प्रहरी कोदारीबाट प्रहरी निरीक्षक संजिता श्रेष्ठको कमाण्डमा मुचुल्का सहितको अनुसन्धानको टोली घटनास्थलमा खटिएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully