मकवानपुर — वाग्मती प्रदेशसभा हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार दिउँसोको बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५ औं अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
असोज १६ गते राति १२ बजेदेखि प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गरिएको थियो ।
सदनका लागि पर्याप्त 'बिजिनेस' नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन । सदनमा प्रदेश सरकारले हाल चारवटा विभिन्न संशोधन विधेयक दर्ता गराएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा बैठक आह्वान गर्नेछन् ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सर्न्दभमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अध्ययन समितिले बनाएको प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ’, उनले भने ।
उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग बोर्ड तथा निकायका लेटर हेड, छाप तथा बोर्डहरुमा समावेश गर्न निर्देशन दिइएको छ ।
बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापन लगायतका काम गर्न निर्देशनसमेत दिएको छ । बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्को बैठकले जग्गा एकीकरणसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बैठकले प्रदेश भवन नीति २०८१ र अपांगता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको छ ।
