६ महिनामा ११४ जना पक्राउ
हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोली पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पर्ने मनहरी गाउँपालिका—८ सिम्पानीमा राक्सीराङ चैनपुरतबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई रोकेर जाँच गर्दा ८१ केजी गाँजा फेला पारेको थियो ।
प्रहरीले गाँजासहित गाडी तथा चालक मकवानपुर कैलाश गाउँपालिका—४ का २२ वर्षीय छेटुप थिङ नियन्त्रणमा लिएको हो । गाडीको पछाडीको ढालाभित्र फल्सवटम बनाएर प्लास्टिकमा प्याक गरेर गाँजा लुकाएर ल्याएको थियो । प्रहरीले नियन्त्रणमा लिएको थिङलाई गाँजा मुद्दामा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि माघ ९ गते गतेसम्म ३ हजार ९ सय ६० केजी गाँजा, ४० केजी चरेस र ५ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले यस अवधिमा नेपाली र भारतीय नागरिकसहित १ सय १४ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५०जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ केजी चरेस बरामद गरेको थियो ।
