मकवानपुर — मकवानपुर-काठमाडौं जोड्ने छोटो दूरीका दुवै मार्ग पुनः सञ्चालनमा आएका छन् ।सडकको स्तरोन्नति गर्ने भनेर केही समयदेखि बन्द थानकोट–चित्लाङ (गणेशमान मार्ग) र मातातीर्थ सडक मंगलबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङ खण्ड गत पुस ७ गतेदेखि बन्द थियो । तर, स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गरेको र विकल्पबिना सडक बन्द गरिएको भन्दै नागरिकस्तरबाट विरोध भएपछि केही दिनमै बिहान र बेलुकाका लागि मात्रै सडक खुल्ला गरिएको थियो । यो सडक हाल पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मकवानपुर-काठमाडौं जोड्ने मातातीर्थ सडक पनि पूर्ण रुपमा सञ्चालनमा आएको छ । महालक्ष्मी खोला–मातातीर्थ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोलानजिकै भीर कटानका लागि पुस २२ गतेदेखि बन्द रहेको उक्त सडक सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकातर्फी मात्रै सवारी साधान सञ्चालन भइरहेको छ । हेटौंडाबाट काठमाडौं जाने सवारी सिस्नेरीतर्फबाट र काटमाठौंबाट हेटौंडा आउने सवारी साधन फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडक खण्डमा हाल स्तरोन्नतिको कार्य पनि भइरहेको छ ।
