हेटौंडा — बाढीपहिरोपीडित ८७ वर्षीय दिलबहादुर थापा दम्पती ३१ वर्षपछि चिटिक्क परेको पक्की घरमा बस्न पाएका छन् । सुविधायुक्त नयाँ घरमा बस्न पाएकामा उनको परिवार दंग छ ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित कार्की फाउन्डेसनले हेटौंडा उपमहानगरपालिका–१५ सिखरपानीमा ८ धुर जग्गा खरिद गरेर भान्सा, शौचालयसहित दुईवटा कोठाको पक्की घर निर्माण गरेर थापा परिवारलाई मंगलबार एक समारोहबीच हस्तान्तरण गरेको हो ।
लौरोको सहारामा हिँड्ने थापा दम्पती सुविधायुक्त पक्की घरमा बस्न पाउँदा खुसीले आँखाबाट आँशु पनि झारे । दिलबहादुरकी पत्नी ६९ वर्षीया पत्नी राधिकाले पनि घर प्रवेश गर्दै खुसीको आँशु झारिन् । उनले घर बनाइदिने कार्की फाउन्डेसनका संचालक धीरज कार्कीलाई खुसी हुँदै धन्यवाद दिइन् । ‘हाम्रो बास थिएन, बस्ने ठाउँ दिनु भो,’ राधिकाले भनिन्, ‘तपाईंलाई सधैं भगवानले हेरुन्, दुःखकष्ट कहिल्यै नपरोस् ।’
यस्तो सुविधायुक्त घरमा बस्न पाइएला भन्ने सोचेकै थिएनम्,’ दिलबहादुरले भने, ‘बुढेसकालमै भए पनि राम्रै घरमा बस्न पाइयो ।’
२०५० सालको बाढीपहिरोले मकवानपुरको आमभन्ज्याङमा रहेको घरजग्गा सबै बगाएपछि उनीहरू सुकुम्वासी बनेका थिए । शक्ति र पहुँचविहीन थापा परिवारले त्यतिबेला सरकारबाट केही पनि राहत पाएनन् । सुकुम्वासी बनेपछि भौतारिँदै हिँडेका थापा परिवार हेटौंडा उपमहागनगरपालिका–४ कमलडाँडास्थित अर्काको जग्गामा कतरे घर बनाएर बसेका थिए । सामाजिक सुरक्षा भत्ताले जीवन गुजार्दै आएका यो परिवारको साथमा एक छोरा छन् । उनी पनि बेरोजगार छन् । छोरीको विवाह भइसकेको छ ।
घामपानी छिर्ने साँघुरो कतरे घरमा बस्दै आएका थापा दम्पतीलाई ८ धुर जग्गामा कार्की फाउन्डेसनले घर बनाइदिएको हो । जग्गासहित २९ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिदिएको फाउन्डेससनका संचालक कार्कीले भने, ‘जग्गालाई १६ लाख र घर बनाउन १३ लाख गरी २९ लाख रुपैयाँ लाग्यो ।’
वृद्ध थापा दम्पतीलाई घर बनाएर हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्त खुसी भएको उनले बताए । घर हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तान, १६ का वडाध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।
