मकवानपुर — सहिद दिवस मनाउनका लागि बागमती प्रदेश सरकारले मूल समारोह समिति गठन गरेको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा मन्त्रालयमा बसेको सर्वदलीय बैठकबाट सहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो ।
बैठकले माघ १४, १५ र १६ गते विभिन्न कार्यक्रमको आयोजना गरी यस वर्षको सहिद दिवस मनाउने निर्णय गरेको कानुनमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका लामिछानेले जानकारी दिए ।
बैठकले मन्त्री लामिछानेको संयोजकत्वमा ७४ सदस्यीय मूल समारोह समिति गठन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
माघ १४ गते प्रदेशका विभिन्न जिल्लाका सार्वजनिक स्थल, विद्यालय, स्थानीय बजारलगायत हेटौंडास्थित विभिन्न मन्त्रालय एवं नगर क्षेत्रमा सरसफाइ गर्ने तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ । माघ १५ मा प्रदेशका १३ जिल्लामा स्वास्थ्य शिविरको आयोजना गर्ने, जिल्लाका सबै विद्यालयमा सहिदको योगदानसम्बन्धी विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको सचिव दर्जीले बताए ।
माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा हेटौंडा उपमहानगरपालिका–११ सहिद स्मारकमा बिहान प्रभातफेरीका साथ सहिदहरुको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमको आयोजना गर्ने आजको सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए ।
