खुल्यो स्थानीयद्वारा अवरुद्ध लामोसाँघु–चरिकोट सडक

माघ ५, २०८१

अनिश तिवारी

Lamosanghu-Charikot road blocked by locals has been opened

सिन्धुपाल्चोक — शुक्रबार दिउँसो भएको दुर्घटनामा स्थानीय युवाको ज्यान गएपछि आन्दोलित स्थानीयद्वारा अवरुद्ध गरिएको लामोसाँघु–जिरी सडक खण्ड शनिबारबाट सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सडक खण्डको सुनकोशी गाउँपालिका–७ आठकिलोमा मधेश प्रदेश ०३–०२ ख ०५३४ नम्बरको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा लिसंखुपाखर गाउँपालिका–७ डाँडापाखरका ३७ वर्षका दावाछिरिङ तामाङको घटनास्थलमै ज्यान गएको थियो । 

आक्रोशित स्थानीय र मृतकका आफन्तजनले शव सडकमा राखेर शनिबार लामो समयसम्म अरनिको राजमार्गको खाडीचौरमा आउजाउ ठप्प बनाएका थिए । शनिबार अपराह्न मृतकका परिवार, मालवाहक ट्रकका पक्ष, जनप्रतिनिधि र सुरक्षाकर्मी बसेर छलफल गरिएको थियो । जसमा क्षतिपूर्तिको सहमति भएपछि अवरोध खुलेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताए ।

‘शुक्रबार अवरुद्ध सडक शनिबारबाट सुचारु भएको छ, दुवै पक्षबीच सहमति जुटेको छ,’ प्रनि पाण्डेले भने । सडक अवरुद्ध हुँदा लिसंखु दोलखा र रामेछाप हिँडेका सवारीसाधन र यात्रु बीचैमा अलपत्र परेका थिए । 

दोलखाबाट काठमाडौं जाँदै गरेको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको तामाङको बा०२–०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक्कासि आगो लागेको र जलेर उनको मृत्यु भएको थियो । त्यस घटनालगत्तै ट्रकले बा प्र ०२–४८ प ७५३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार चालक रामेछाप सुनापति गाउँपालिका– ६ बेथानका ४० वर्षे अम्बर तामाङ र हेटौंडा उपमहानगरपालिका–१६ का ४४ वर्षका रत्नलाल मोक्तान घाइते छन् । 

बलेफी गाउँपालिका–७ खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा दुवैको उपचार भइरहेको घटनास्थलमा खटिएका प्रहरीले बताएका छन् । ट्रकका चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully