आठ किलो दुर्घटना :  क्षतिपूर्ति माग्दै लामोसाँघु-जिरी सडक अवरुद्ध

माघ ५, २०८१

अनिश तिवारी

Eight Kilo Accident: Lamosanghu-Jiri road blocked demanding compensation

सिन्धुपाल्चोक — ट्रकको ठक्करबाट लिसंखुपाखर गाउँपालिका-७ डाँडापाखारका दावा छिरिङ तामाङको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित बनेका छन् । तामाङको मृत्युपछि आक्रोसित बनेका उनीहरूले लामोसाँघु-जिरी सडक अवरुद्ध पारेका हुन् ।

शुक्रबार दिउँसोदेखि अवरुद्ध सडक शनिबार बिहानसम्म पनि खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार लामोसाँघु जिरी सडकखण्डको सुनकोशी गाउँपालिका-७ अन्तर्गत पर्ने ८ किलोमा मधेश प्रदेश ०३ ०२ ख ०५३४ नम्बरको ट्रकको ठक्करबाट लिसंखुपाखर गाउँपालिका-७ डाँडापाखरका दावा छिरिङ तामाङको घटनास्थलमै मृत्यु भएको थियोे ।

मृतकका आफन्त र स्थानीयले क्षतिपूर्ति लगायतका माग पूरा नहुँदासम्म सडकबाट शव नउठाउने बताएका छन् । दोलखाबाट काठमाडौं जाँदै गरेको मालवाहक ट्रकले शुक्रबार मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको थियोे भने दुई जना घाइते भएका थिए ।

सडक अवरुद्ध भएपछि दोलखा र रामेछाप हिँडेका सवारीसाधन र यात्रु बीचैमा अलपत्र परेका छन् ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully