सिन्धुपाल्चोक — उत्तरी नाका तातोपानीको सुक्खा बन्दरगाह तथा भन्सारमा सामान अनलोड गर्ने क्रममा सामनको बाक्साले लागेर घाइते मजदुरको बाटैमा ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको भन्सारमा सामान झार्ने क्रममा सामानले लागेर भोटेकोशी गाउँपालिका-३ दुगुनाका ४३ वर्षीय रामकाजी विक(लोहोरे) बुधवार गम्भीर घाइते भएका थिए । तत्काल उनलाई उपचारको लागि भोटेकोशी गाउँपालिका-४ हिन्दीस्थित काभ्रेको धुलिखेल शाखा अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको हो । अहिले मृतको शव अस्पतालमा राखिएको र आवश्यक कानुनी प्रक्रियासहित पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ । त्यसदिन भन्सारको मेनहलमा र्चीनबाट फ्युजन ट्रान्सपोर्ट कम्पनीले ल्याएका सामान अनलोड गरिँदै थियो । लोहोरे अन्य मजदुरसँगै त्यही काममा लागेका थिए । सामान ओइरिएर टाउकोमा लागेपछि उनी बेहोस भएर ढलेका थिए । ज्याला मजदुरी गरेर परिवार पालिरहेका लोहोरे बितेपछि उनको नौ सदस्यीय परिवारको बिचल्ली भएको छ । यस घटनापछि सिंगो मजदुर समूह शोकाकुल बनेको छ । अहिले ट्रान्सपोर्ट कम्पनी र मजदुरबीच यही घटनालाई लिएर मृतकका परिवारलाई क्षतिपुर्तिको विषयमा छलफल भइरहेको छ ।
