नेपाल भाषा सिक्दै किशोर–किशोरी

पुस २९, २०८१

ज्योती श्रेष्ठ

Teens learning Nepali language

काभ्रे — ‘ज्वजलपा, भिं सुथ, शुभाय्, म्ह: फुला ? ज्यना भबे धुन ?, छु याना च्वना ?’ (नमस्कार, शुभ प्रभात, धन्यवाद, सन्चै हुनुहुन्छ ?, तपाईंले खाना खानुभयो ? के गर्दै हुनुहुन्छ ?) भन्दै नेपाल भाषा (नेवारी भाषा) मा बनेपाकी पुर्विसा श्रेष्ठ अचेल हजुरबाआमासँग कुराकानी गर्छिन् ।

नेवारी भाषामा बोलीचाली गर्दा उनकी हजुरबाआमा पनि दंग छिन् । पहिले भाषा अलि–अलि बुझ्ने तर फर्काउन नसक्ने उनी अचेल नेवारीमै दोहोरो कुरा गर्न सक्ने भएकी छिन् । एक सातामा नेपाल भाषा सिकेपछि उनी नेवारीमै दोहोरो कुराकानी गर्न सक्ने भएकी हुन् । कक्षामा सिकेको कुरा उनी घरमा पनि अभ्यास गर्ने गर्छिन् । घरमा पनि उनलाई उनका हजुरबुबा र हजुरआमाले भाषा सिकाउने गर्छन् ।

‘आफ्नो मातृभाषा त सिक्नुपर्छ जस्तो लाग्थ्यो, तर कसरी, कहाँ सिक्ने भन्ने हुन्थ्यो,’ उनले भनिन्, ‘दिउँसो स्कुल जानुपर्ने, बिहान–बेलुकाको समय पनि पढ्नुपर्ने भएकाले सिक्ने समय पनि थिएन, अहिले नेपाल भाषाको कक्षा सञ्चालन भएको जानकारी पाएपछि यहाँ अहिले सिकिरहेको छु, धेरै कुरा जानियो, घरमा पनि बाजे–बज्यैले पनि सिकाउनुभयो ।’

घरमा परिवारका सदस्यले नेवारी भाषामा बोलीचाली गर्दा शब्द सुनिरहे पनि आफूले यसअघि कहिल्यै नबोलेको उनले बताइन् । कक्षामा उनले नेवारीमा बोलेको पहिलो शब्द हो, ‘ज्वःजलपा’ (नमस्कार) । 

बनेपाकी स्नेहा कर्मचार्यलाई नेवारी भाषा सिक्ने रहर भए पनि अवसर पाएकी थिइनन् । परिवारका सदस्यले नेवारीमा बातचित गरे पनि उनलाई कहिल्यै कुराकानी गर्न आएन । परिवारमा सँगै बसेर सिक्ने समय नभएकाले पनि भाषा सिक्न समस्या भइरहेको उनले बताइन् । नेपाल भाषा प्रशिक्षण हुने सूचना उनले सामाजिक सञ्जालमा देखेपछि नाम दर्ता गराएर उनले भाषा सिकिरहेकी छिन् । ‘खासै गाह्रो र नौलो भन्ने त केही पनि रहेनछ,’ अनुभव सुनाउँदै उनले भनिन्, ‘सुरुका दिनमा केही नौलो जस्तो लागे पनि अहिले त सजिलो भइसक्यो, भाषा सिक्दा रमाइलो पनि हुने रहेछ, दुई घण्टा बितेको पनि थाहै हुँदैन ।’

रितिरिवाज, कला, संस्कार, संस्कृति, भाषा नै पहिचान भएकाले यसको संरक्षण गर्नु पनि दायित्व भएकाले नेपाल भाषा सिक्न अहिलेको आवश्यकता भएको उनले बताइन् । ‘हामीले भाषा सिकेपछि, यसलाई निरन्तर अभ्यास पनि गर्नुपर्छ अनि मात्रै संरक्षण हुन्छ,’ उनले भनिन्, ‘यसका साथै आफूले सिकेको र जानेका कुरा अरुलाई पनि सिकाउनुपर्छ ।’

बनेपाका नियम श्रेष्ठले नयाँ पुस्तामा नेपाल भाषाको ज्ञान नभएको बताए । ‘हाम्रो उमेर समूहका धेरैलाई नेवारीमा बोल्न आउँदैन, हामीले बोल्न छाड्यौं भने यो भाषा लोप हुने स्थितिमा पुग्छ, यो भाषालाई लोप हुन दिनु हुँदैन भनेर भाषा सिक्न आएका छौं,’ उनले भने । परिवारका सदस्यले नेवारीमा बोले पनि अहिलेको पुस्तामा यो भाषाको ज्ञान नभएको उनले बताए । 

एक सातामा आफूले नेपाल भाषाका धेरै कुरा उनले सिकेका छन् । अहिले विद्यालय बिदा भएकाले पनि भाषा सिक्ने समय निकाल्न सहज भएको उनले बताए । बिदाको समयमा केही नयाँ अनि फरक खालका कुराहरू उनलाई सिक्न मन लाग्छ । यसपटकको बिदा पनि आफ्नो भाषा सिकेर नयाँ ज्ञान हासिल गरेको उनी बताउँछन् । 

पुर्विसा, स्नेहा र नियमसँगै ४० जनाले अहिले नेवारी भाषा सिकिरहेका छन् । उनीहरूलाई भाषा सिकाइरहेका छन्, प्रशिक्षक सुरेश शाहीले । ‘आदार–सत्कार, परिचय दिने, सामानहरूका बारेमा सिकाइरहेका छौं,’ उनले भने, ‘भाषा भनेको उनीहरूले बोल्दा–बोल्दै जान्ने कुरा हो, सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट सिकाइरहेका छौं, ५–६ वर्षदेखि २०–२२ वर्ष उमेर समूहका सहभागी छन्, ठूला उमेर समूहका सजिलै र छिट्टै पनि सिकेका छन्, साना उमेर समूहकालाई बुझाउन र सिकाउन अलि समय लागेको छ, उनीहरूले बिस्तारै सिकिरहेका छन् ।’

उनीहरूलाई भाषा सिक्नको लागि नेवाः मिसा दबु काभ्रेले सहयोग गरिरहेको छ । हिउँदे बिदाले गर्दा विद्यालय बन्द छन् । बिदाको समयमा बालबालिकालाई आफ्नो भाषा सिकाउनका लागि नेपाल भाषा कक्षा सञ्चालन गरिएको नेवाः मिसा दबु काभ्रेकी अध्यक्ष सितु बादेले बताइन् । उनका अनुसार, पछिल्लो नयाँ पुस्तामा नेवारी भाषासम्बन्धी ज्ञान नहुँदा भाषा नै लोप हुने स्थितिमा पुग्न लागेकाले यो कार्यक्रमको आयोजना गरिएको हो ।

‘अहिलेको नयाँ पुस्ताका अधिकांशलाई नेवारी भाषाको ज्ञान खासै छैन, भाषा बुझ्ने र दोहोरो कुरा गर्न नआउने पनि धेरै छन्,’ उनले भनिन्, ‘भाषा नै भएन भने हाम्रो पहिचान कहाँ रहन्छ र ? त्यसैले पनि हामीले भाषासम्बन्धी कक्षा सञ्चालन गरेका हौं ।’ उनका अनुसार भाषा सिक्ने इच्छा भएको तर सिक्ने अवसर नपाएको पनि धेरैमा पायौं । 

भाषा सिक्न बनेपा, खड्पु, पनौती, धुलिखेल, भक्तपुर, काठमाडौंलगायतका स्थानदेखि बनेपासम्म आउने गरेका छन् । उनीहरूलाई आयोजकले निःशुल्क नेपाल भाषा सिकाइरहेका छन् । सहभागीबाट दर्ता शुल्कबापत ५ सय रुपैयाँ मात्रै लिइएको छ । 

‘पहिले नेवारीमा कुरा गर्दा केही वास्ता नगर्ने छोरी अहिले भाषा सिकेपछि घरमा नेवारीमै कुरा गर्न थालेकी छिन्,’ पुर्विसा श्रेष्ठकी अभिभावक पूर्णिमा प्रधानाङ्गले भनिन्, ‘हजुरबुबा/हजुरआमासँग पनि धेरै कुरा सिक्न खोज्छिन् अचेल, उनको सिकाइ देख्दा खुसी लागेको छ ।’

नेवाः मिसा दबु काभ्रेको आयोजनामा पुस २३ गतेदेखि सुरु भएको भाषा तालिम १० दिनसम्म सञ्चालन हुनेछ । यस प्रकारको तालिमलाई निरन्तरता दिने योजना आयोजकको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully