तेस्रो पीएफसी इमर्जिङ कपको तयारी पूरा, चितवनका १६ विद्यालयहरूबीच प्रतिस्पर्धा हुँदै

पुस २९, २०८१

कान्तिपुर संवाददाता

Preparations for 3rd PFC Emerging Cup are complete, 16 schools of Chitwan are competing

चितवन — शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजना हुँदै आएको ‘पीएफसी इमर्जिङ् कप-२०८१’ को तयारी पूरा भएको छ । पटिहानी फुटबल क्लबको आयोजनामा माघ ४ देखि १२ गतेसम्म हुने प्रतियोगितामा चितवनका १६ विद्यालयहरूले सहभागिता जनाउँदै छन् ।

खेल भरतपुर-१४ को सुन्दर बस्ती खेलमैदानमा हुने उद्घाटन खेल सैनिक आवासीय माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयबीच हुनेछ । 

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले १० हजार नगद सहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।  अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विगतका प्रतियोगिताले स्कुलदेखिनै नयाँ खेलाडीहरूको पहिचान गर्न सफल भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए । हामीले क्लबको स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएका छौँ । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका संस्करणहरू निकै उपलब्धिमूलक भएको उनको बुझाई छ । यस अघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । प्रतियोगिताको प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully