चितवन — चितवन राष्ट्रिय निकुञ्जको कसरापूर्वमा जाडो छल्न हिउँदमा बसाइँ सरेर आउने पानी चराको गणना सम्पन्न भएको छ । शनिबार सार्वजनिक गरिएको नतिजा अनुसार सो क्षेत्रमा ५५ प्रजातिका पानी चरा फेला परेको गणनाको नेतृत्व गरेका कार्यक्रम संयोजक वासु बिडारीले बताए ।
राप्ती नदीको लोथरदेखि कसरासम्म र कसरा पूर्व लोथरसम्मको निकुञ्जको सीमसार, तालतलैया र माछा पोखरीमा गणना भएको हो ।
अघिल्लो वर्ष यो क्षेत्रमा ५३ प्रजातिका पानी चरा भेटिएका थिए । गत वर्ष नदेखिएको कालो टाउके गंगा चिल र राजा गंगा चिल यसपटक देखिएको बिडारीको भनाइ छ । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको स्वयंसेवकहरु चरा गणनामा सरिक थिए ।
गएको सोमबार र मंगलबार चितवनको यस क्षेत्रमा हिउँदमा बसाइँसराइ गरेर आउने जलपन्छीको गणना भएको थियो । यसमा ६३ जना स्वयंसेवक खटिएका थिए ।
प्रजातिका हिसाबले बसाइँ सरेर आउने चराहरुको अवस्था केही सन्तोषजनक देखिएको छ । सन् २०२३ को गणनामा ४९ प्रजातिका चरा भेटिएका थिए । त्यसभन्दा अघि ५४ प्रजातिका चरा भेटिएको तथ्याङ्क छ । आहारा र वातावरणको अवस्था हेरेर चराको प्रजाति र संख्या तलमाथि हुने गरेको चराविज्ञ बिडारीको भनाइ छ ।
यो पटकको गणनामा सबैभन्दा धेरै पानीहाँस चखेवा फेला परेका छन् । चखेवा ४ हजार १ सय ७ वटा भेटिएको बिडारीले जानकारी दिए । गणकहरुले कुल ७ हजार १ सय ५० वटा पानी चरा फेला पारेको उनले बताए । चखेवा गत वर्षभन्दा कम भेटिएका छन् । तीन सयजति कम चखेवा भेटिँदा जलकौवाको संख्या भने बढेको छ । अन्य चराहरुसमेत गरेर गणकहरुले १४ हजार २६ चरा गणना गरेको बिडारीले बताए ।
नेपालभन्दा बाहिर सन् १९६७ देखि नै यस्ता चरा गन्न सुरु भएको हो । सन् १९८७ मा नेपालमा पनि सुरु भएको अर्का चराविज्ञ टीका गिरीले बताए । उनी सोही वर्षदेखि गणनामा सरिक भएका थिए । चितवनमा कसरादेखि पश्चिम राप्ती नदी, माडीको रिउखोला र दिव्यनगर आसपासको नारायणी क्षेत्र र यी इलाकाका तालतलैयामा चरा गणना गर्न नेपाल पन्छीविद् संघको अर्को टोली खटिएको छ । त्यहाँको गणनाको नतिजा भने आइसकेको छैन ।
