चितवन — अंग्रेजीमा 'कमन क्रेन' भनिने चरालाई नेपालीमा लक्ष्मण सारस भन्छन् । स्थानीयले यसलाई कर्याङकुरुङ या मालचरी भनेर पनि चिन्दछन् । कर्याङ कुरुङ आवाज निकाल्दै सिक्री जसरी एकपछि अर्को क्रम मिलाएर उड्ने यो चरा जाडो लागेपछि नेपाल छिर्ने गर्दछ ।
पृथ्वीको असाध्यै चिसो क्षेत्र साइबेरियाबाट हिमाल पार गरेर आउने यो सारसले पूरा हिउँद बिताउने नेपालको एक मात्र ठाउँ हो चितवनको दिव्यनगर । तर दिव्यनगरमा पहिलाको जस्तो कमन क्रेन देख्न गाह्रो हुन थालेको छ ।
नारायणी नदीबाट पुग नपुग डेढ किलो मिटर पर रहेको दिव्यनगर फाँट आडको थारु बहुल गाउँ सिसैका बासिन्दा हुन् ७५ वर्षीय उत्तम चौधरी । सिसैमा नै जन्मेका उत्तमले जान्ने भएदेखि नै गाउँको खेतहरुमा कर्याङ कुरुङको बथान आएर बस्ने गरेको देख्दै आए । कर्याङकुरुङ आकासमा उड्दा तल बादल लागे जसरी छायाँ पर्ने गर्दथ्यो भन्छन् उनी ।
‘बुढा पाकाहरुले कर्याङकुरुङ हिमालसे चितवन झर्लेजउ, वर्षात् खौ हतई भनेर थारु भाषामै कुरा गर्दथे । अर्थात् लौ हिमालबाट कर्याङकुरुङ चितवन आयो अब राम्रो वर्षा हुने भयो भन्थे । ठूला ठूला बथान आउने गरेको लगभग ३०/३५ वर्ष अगाडि देखेको हो, अहिले त धेरै कम भयो,’ उत्तमले सुनाए ।
उत्तमको घरभन्दा लगभग दुई किलो मिटर पर दिव्यनगर घान्द्रुके चोकका पुराना बासिन्दा टीकाराम पोखरेलको अनुभव पनि यस्तै छ । ‘मैले देख्दा ६ सातवटा बथान हुन्थे । एउटै बथानमा गन्ने हो भने ७०/८० वटा कर्याङकुरुङ हुन्थे । अहिले एउटा दुईवटासम्म बथान आउँछ । २४/२५ वटा पनि हुँदैनन्,' टीकारामले भने । कास्कीबाट २०२४ सालमा बसाइ सरेर आएका पोखरेल अहिले ६४ वर्षका भए ।
उनले २०६० सालसम्म दिव्यनगरको खेतमा प्रशस्तै कर्याङकुरुङ हुने गरेको बताए । २०६५ सालपछि त निकै कम देखिन थालेको उनको अनुभव छ । ‘पहिला फाँटमा घरै थिएनन् । फाँट खाली जस्तै थियो । अहिले घर बढे, फ्याक्ट्री पनि खुलेका छन् । कर्याङकुरुङ आउन डराए कि’ टीकारामले भने ।
पुराना बासिन्दा उत्तम चौधरी पनि घरहरु बढ्दा चरालाई असर गरेको बताउँछन् । ‘सिसैमा पहिला हाम्रा तीन घर मात्रै थिए । अहिले ७५ घर भए । खेत माँसियो, भएको खेतमा पनि विकासे मल र रासायनिक विषादी राख्ने चलन छ । चरालाई यसले असर गर्यो कि’ उत्तमले भने ।
अहिले नेपालमा बसाइँ सरेर आउने हिउँदे पानी चराको गणना चलिरहेको छ । दिव्यनगर नजिकै भरतपुर महानगरपालिका–२५ का बासिन्दा हठन चौधरी नेपाल पन्छीविद् संघका केन्द्रीय अध्यक्ष हुन् । उनैको नेतृत्वमा सोमबार बिहान दिव्यनगर क्षेत्रमा पानी चरा गणना सुरु भयो । दिव्यनगर फाँटमा चरा गन्न सुरु गरेको अलि बेरमा हठनले एउटा चिर परिचित आवाज सुने । बथानबाट अलग भएको एउटा कर्याङकुरुङ उडेर जाँदै थियो ।
त्यसको केही बेरपछि पहिलेको चरा गएको दक्षिण पश्चिम कोण तर्फ नै तीनवटा कर्याङकुरुङ उडे । हठनको टोली दिव्यनगरको फाँट र सिसै गाउँ पार गरेर नारायणी नदी तर्फ लम्कदै गर्दा कर्याङकुरुङ गर्दै चराको एउटा समुह उडेर उत्तर लाग्यो र किनारदेखि अलि पर नारायणी नदीले बनाएको भंगालोको मजुवामा पुगेर बिश्राम लियो । हठन र उनको सहयोगीले फटाफट गने, त्यो समुहमा ३२ वटा कर्याकुरुङ चरा रहेछन् ।
‘गत वर्ष जम्मा १७ वटा थिएं । सन् २०२३ मा १८७ वटा भेट्यौं । सन् २०२० मा २४२ वटासम्म कर्याङकुरुङ गनेका थियौं । सवैभन्दा धेरै त्यही नै हो’ उनले भने । कर्याकुरुङ सवैभन्दा उचाइमा उड्ने चरामा दोस्रो नम्बरमा पर्दछ । सवैभन्दा उचाइमा १३ हजार मिटरमा उड्ने चरा रुपाल्स भल्चर हो भन्छन् हठन । यो नेपालमा पाइदैन । कर्याङकुरुङ ११ हजार मिटर र तेस्रो नम्बरमा बारहेडेड गुज अर्थात खोयाहाँस नौ हजार मिटरमा उड्छ ।
नेपालमा हिउँद याममा १५३ प्रजातिका चराहरु बसाइ सरेर आउने हठनले जानकारी दिए । जसमा ४० प्रतिशत जति चराहरु खोयाहाँस, कर्याङकुरुङ र चखेवा जस्ता पानी चराहरु हुन्छन् भन्छन् हठन । पानी चरामध्ये कर्याङकुरुङ यस्तो चरा हो जो नेपालमा पुरै हिउँदयाम बिताउने गरेर चितवन दिव्यनगरमा मात्रै बस्दछ । यो चरा नोभेम्बर तिर आउँछ र मार्चसम्म बस्छ ।
‘कैलालीको भजनीमा पनि नरोकिने हैन तर त्यहाँ पुरै हिउँदभरलाई हैन कि केही समयमा लागि रोकिन्छ । नेपालमा यसले हिउँद बिताउने दिव्यनगरमा मात्रै हो । नभए यसको ठुलो बथान हिउँद बिताउन भारतको बिहार र राजस्थान जान्छ । राजस्थानमा पनि भरतपुर भन्ने ठाउँ छ, त्यहाँ यसको ठुलो बथान बस्छ,' उनले भने ।
धान खेतको फाँटमा चर्ने र नदीको बगरमा बस्ने स्वभावको यो चराले दिव्यनगरमा त्यो वातावरण पाएको छ । तर धानखेतको हैसियत बिग्रदै जाँदा उनीहरु यहाँ आउन कम हुँदै गएको स्थानीयले मात्रै अनुभव गरेका छैनन् कि विज्ञहरुको लगातारको अनुगमनले पनि पुष्टि गरेको छ । कर्याङकुरुङले धानको दाना मात्रै खाने हैन खेतमा रहेका साना किरा, भ्यागुता खान्छ । होहल्ला रुचाउँदैन ।
‘खाने कुरा कम भए, डिष्टर्ब भए उनीहरु आउन छाड्छन् । पहिला धेरै आउँथे अहिले कम भए भन्नुको मतलब यहाँको पर्यावरणीय अवस्था बिग्रन थालेछ भन्ने जनाउ हो । यो मान्छेका लागि पनि सोचनीय विषय हो’ हठनले भने । दिव्यनगरको फाँटमा फ्याक्ट्री छन् । विद्युतको सबस्टेशन बन्न थालेको छ । नेपाली सेनाले पनि प्यारा जम्पिङको तालिम यही क्षेत्रमा गराउँदा यो चरालाई मर्का परेको हठनले देखेका छन् ।
‘साइबेरियादेखि चितवनलाई रोज्नु यो ठाउँका लागि निकै सुखद कुरा हो । तर अहिले यहाँको वातावरणीय हैसियत बिग्रदै गएको देखिन्छ । यसलाई सुधार गर्न आवश्यक छ । यसो भएमा वतावरण संरक्षणमा मात्रै हैन पर्यटनका पनि टेवा पुग्छ । यो महत्वपुर्ण चरा हेर्न रुचाउने पर्यटक धेरै नै छन्’ हठनल भने । बासस्थल संरक्षणका लागि १०/१५ बिघा जग्गा भाडामा लिएर त्यो खेत उनीहरुको अनुकुल बनाउन सकिने राय हठनको छ ।
