नारायणी किनारमा चितवन महोत्सव

पुस २५, २०८१

रमेशकुमार पौडेल

Chitwan Festival on Narayani Bank

चितवन — नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो ।

चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव १५ दिनसम्म चल्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गर्दै स्वदेशी र विदेशी लगानी बढाउन सरकारले धेरै कानुन परिवर्तन गर्ने तयारी गरेको बताए । 

‘सरकारी संरचना र नीतिगत जटिलताले गर्दा स्वदेशी होस् या विदेशी लगानी बढ्न सकेको छैन । लगानीमैत्री वातावरण बनाउन हामी नीतिगत जटिलता एकैपटक हटाउने तयारीमा छौं,’ उनले भने ।Chitwan Festival on Narayani Bank

हालका ऐन कानुन नियन्त्रित र निषेध गर्ने चरित्रका भएका कारणले लगानी र उत्पादनलाई नै निषेध गरेको उनले बताए । एउटा सरलीकृत कानुन बनाएर प्रक्रियागत जटिलता हटाउने उनले आश्वासन दिए ।

‘सार्वजनिक खरिद ऐन, जग्गा प्राप्ती, वन वातावरणलगायतका दर्जनौं कानुन जो आन्तरिक र बाह्य लगानीका बाधकका रूपमा छन्, तिनको प्रतिस्थापन गरी सरलीकृत कानुन ल्याउँछौं । ताकि विदेशी लगानीलाई ह्वारह्वार्ती बढाउन सकियोस्,’ मन्त्री भण्डारीले भने ।Chitwan Festival on Narayani Bank

उद्योग मन्त्रालयले ‘सुपर फास्ट ट्रयाकबाट औद्योगिक व्यावसायिक ऐन, कम्पनी ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन संशोधन गर्नेर् तयारी गरेको पनि उनले बताए ।

आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले चितवन उद्योग वाणिज्य संघले २०५३ देखि दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सव परिसरमा ४ सय ३० वटा स्टल रहेको महोत्सव मूल समितिका संयोजक चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । 

महोत्सवमा चीन, बंगलादेश र पाकिस्तानबाट पनि प्रदर्शक आएका छन् । महोत्सवअन्तर्गत नै नारायणगढ क्याम्पाचौरमा पुस २९ गतेदेखि माघ ४ सम्म परम्परागत खानाको प्रवर्द्धनका लागि फुड फेस्टिभलसमेत हुनेछ ।

पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव उद्घाटनअघि विभिन्न जातजाति समुदायको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निस्केको थियो ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully