मकवानपुर — ८ वर्षअघि शिलान्यास गरेर २५ करोडभन्दा बढी रकम खर्च गरिसके पनि हेटौंडा उपमहानगरपालिका–१४ स्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ अलपत्र बनेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगरेका कारण निर्माण कार्य रोकिएको हो ।
तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सातै प्रदेशमा एक/एक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७३ मा यसको शिलान्यास गरेका थिए । ०७७ भित्रै यसको सञ्चालन गर्ने योजना सरकारको थियो ।
निर्माण कार्य रोकिनुको मुख्य कारण औद्योगिक क्षेत्रको केही जग्गा पर्सा राष्ट्रिय निकुन्जभित्र परेकाले हो । औद्योगिक क्षेत्रको जग्गामा तारबार गर्नका लागि निकुन्जले अनुमति दिएको छैन । यही कारणले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाकी प्रमुख इन्जिनियर संगीता कुँवरले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नहुँदा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढ्न नसकेको बताइन् । 
२०७३ मा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै । तस्बिर : प्रताप विष्ट
वाग्मती प्रदेश उद्योग परिसंघका अध्यक्ष एवं हेटौंडाका उद्योगी लेखराज पोखेरलले अन्तर मन्त्रालयको समन्वय अभावका कारण मन्त्रिपरिषद्ले गरेको निर्णय पनि खारेज हुने अवस्थामा पुगेको बताए । ०७३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले यसको क्षेत्रफल घटाएर १९९.१२ बिघामा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । ०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना भएको थियो ।
औद्योगिक क्षेत्रभित्र ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ रकम लगानी हुनेछ । पुरानै डीपीआरले ७ अर्बभन्दा बढीको मूल्यांकन गरे तापनि लागत बढ्ने सक्ने देखिन्छ । औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने विश्वास राखिएको छ ।
वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा औद्योगिक क्षेत्रमा कुल ५० प्रजातिका चराचुरुंगी तथा १३ प्रजाति घस्रने जीवजन्तु छन् । साथै उक्त क्षेत्रमा पाइनेमध्ये १४ प्रजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जोखिम वर्गमा सूचीकृत गरिएका छन् । जसमध्ये ९ वटा स्तनधारी २ वटा पन्छी तथा ३ वटा घस्रने जनावर पर्छन् ।
अमेरिकन सरकारको सहयोगमा २०२० सालमा २ सय १२ बिघामा हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएकाे थियो । ५५ वर्षपछि हेटौंडा औद्योगिक क्षेत्र नजिककै करिब २ सय बिघामा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको थियो ।
