चितवन — छोरी बलात्कारको आरोप लागेका चितवनका एकजना व्यक्तिलाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । पीडित १४ वर्षीया किशोरीको पहिचान खुलाउन नमिल्ने भएकाले प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण पनि सार्वजनिक गरेको छैन ।
चितवन प्रहरीले आइतबार धादिङ निलकण्ठ नगरपालिका–३ बाट ती व्यक्तिलाई समाएको हो । उनीमाथि आफ्नै छोरीको बलात्कार गरेको र गर्भ रहेपछि पतन गराएको अभियोग छ ।
ती व्यक्तिले गत वर्षको असोजमा बलात्कार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले बताए । त्यसपछि गत वर्षको पुस २० मा अस्पताल लगेर गर्भपतन पनि गराएको चितवन जिल्ला प्रहरी कार्यालयका तर्फबाट डीएसपी महतोले मगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ती व्यक्तिमाथि अनुसन्धान गर्न चितवन जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।
ती व्यक्तिलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी चितवन रत्ननगरको इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरीले जारी गरेको विज्ञप्तिमा चितवन अदालतबाट कैद तथा जरिवाना सजाय भए पनि पक्राउ नपरी फरार रहेका थप २८ जना मंगलबार पक्राउ परेको पनि उल्लेख छ । त्यस्ता सबै २८ जनालाई अदालतमा उपस्थित गराइरहेको डीएसपी महतोले बताए ।
