काभ्रे — रुखका जरा खासै प्रयोगमा आउँदैनन् । गाउँमा दाउराका रूपमा प्रयोगबाहेक खेर गइरहेका जरालाई बनेपा नगरपालिका–९ का ३६ वर्षीय पुरुषोत्तम नेपालले आम्दानीको स्रोत बनाउन सकिने उदाहरण दिएका छन् । उनले आँगनको एक छेउमा रुखका जरा र मुढा सुकाएका छन् भने जरामा टाँसिएको माटो र झार सफा पारेर गोदाममा लहरै राखेका छन् ।
पुरुषोत्तम र अन्य कामदार गोदामको एक छेउमा जरालाई कलात्मक आकार दिएर टेबल बनाउँदैछन् । अर्को छेउमा रुखका जराबाट बन्ने टेबल सिसा राखेर फिनिसिङको काम मात्रै बाँकी छ । त्यसलाई अन्तिम रूप दिन पुरुषोत्तम मिहिनेत गरिरहेका छन् ।
पुरुषोत्तम अलि फरक अनि नयाँ काम गर्न रुचाउँछन् । नवीनतम काम गर्ने सोचले रुखका जरामा उनले केही सम्भावना देखे । काष्ठकलाको क्षेत्रमा १६ वर्षदेखि काम गर्दै आएका उनलाई काठमै नयाँ काम गरौं भन्ने लागेर यसमै सिर्जनात्मक शैली अपनाए । यसमा उनलाई साथ दियो, विश्वविद्यालय अनुदान कार्यक्रमले ।
काभ्रे बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दागर्दै उनले विश्वविद्यालय अनुदान आयोगले जारी गरेको (इन्टरप्रेनरसिप सपोर्ट प्रोग्राम) ‘उद्यमशीलता समर्थन कार्यक्रम’ सूचना देखेर उक्त कार्यक्रममा सहभागी हुन फार्म भरे । उनी छनोटमा पनि परे । ६० प्रतिशत आफ्नो र ४० प्रतिशत आयोगको लगानीबाट अनुदान सम्झौता प्रक्रिया पूरा भए अनुसार करिब १ करोड लगानीमा रुखका जराबाट फर्निचरका सामग्री बनाउने कार्य उनले अघि सारे । उनले व्यावसायिक रूपमा काम सुरु गरेको ९ महिना भयो ।
सामान्य काठभन्दा जराबाट सामग्री बनाउँदा अलि गाह्रो र समय बढी लाग्ने उनले बताए । ‘हेर्दा नौलो देखिन्छ, काम पनि उस्तै गाह्रो छ । सुरुमा त जरा खोज्नै गाह्रो हुन्छ, वन कार्यालय, उपभोक्ता समितिबाट स्विकृति लिनुपर्ने जरा खरिद गर्ने प्रक्रिया पनि अलि झन्झटिलो छ,’ उनले भने, ‘जरा निकाल्न कति ठाउँमा त स्काभेटर नै प्रयोग गर्नुपर्ने हुन्छ, केलाएर, आकार मिलाएर करिब ६ महिनासम्म घाममा सुकाउनुपर्छ अनि मात्र यसलाई काँटछाँट र कलात्मक आकार दिन सकिन्छ । त्यसमा रंग भर्ने र सिसा राखेर फिनिसिङ गरेपछि अन्तिम रूप तयार हुन्छ ।’
उनका अनुसार घाममा सुकाएर गर्नुपर्ने भएकाले विशेष गरेर हिउँदको समयमा तयार गर्ने गरिन्छ । पुरुषोत्तमले अहिले रुखका जराबाट १५ सेट टेबल, कुर्सी बनाउने तयारी गरिरहेका छन् । एउटा सेट टेबल–कुर्सी तयार गर्न करिब १ महिना लाग्ने उनले बताए ।
अहिले उनले नगरकोटबाट जरा ल्याउने गरेका छन् । एउटा रुखको जरा उनले २ सय रुपैयाँदेखि ५ हजारसम्ममा किन्ने गर्छन् । ‘यसको मूल्य प्रकृति अनुसार हुन्छ । यसबाट कति सामग्री बनाउन सकिन्छ भन्ने कुराले भाउ निर्धारण हुन्छ, कुनैमा एक पिसबाट २ टेबलसम्म बन्छन् भने कुनै कुनै २ वटा जरा ल्याए पनि एउटै पनि बन्दैन ।’ उनले अहिले विशेष गरेर किचेन, डाइनिङ टेबल तयार गरिरहेका छन् । उनीसँग टि–टेबल, आउट–डोर, सेमिनार, रुफ–टप टेबल बनाउने सीप पनि छ ।
‘काष्ठकलाको सीप छ भने यसलाई सिर्जनात्मक शैलीमा धेरै सामग्री बनाउन सकिन्छ, एउटा टेबललाई धेरै कला भरेर आकर्षक बनाउन सकिन्छ,’ उनी भन्छन् । उनलाई दुई जना कामदारले सघाइरहेका छन् । बजारमा माग बढ्दै गएमा कामदार पनि थप्ने उनले सोचेका छन् । आफूसँग भएको उक्त सीप अरुलाई दिने चाहना भएकाले यससम्बन्धी तालिम प्रदान गर्ने पनि उनको योजना छ ।
हेर्दा नौलो अनि आकर्षक देखिनुका साथै मिहिनेत पनि धेरै हुने भएकाले यसको मूल्य पनि अलि धेरै भएको उनले बताए । उनका अनुसार जराको टेबल र सादा कुर्सी सेटको मूल्य ८० हजारदेखि माथि पर्छ । त्यस्तै जराको टेबल–कुर्सी सेटको मूल्य २ लाख रुपैयाँसम्म पर्ने उनले बताए । ‘हामी अहिले सुरुवाती चरणमै छौं,’ उनले भने, ‘यो अलि नयाँ भएकाले यसले बजार पाउन अलि समय लाग्छ, मागअनुरूप विस्तार गर्दै लाने योजना छ ।’ हेर्दा नौलो अनि आकर्षक देखिने भएकाले उनको कामबारेमा सोधी–खोजी गर्न उनको गोदाममा आउने धेरै छन् ।
