दुई हजार मिटरमाथिको गुफाडाँडामा जलवायु दिवस

जलवायु अनुसन्धान केन्द्र बनाउन विज्ञले दिए सुझाव

पुस १८, २०८१

अनिश तिवारी

Climate day in a cave mountain above 2000 meters

गुफाडाँडा, सिन्धुपाल्चोक — २ हजार ५ सय २० मिटरको उचाइमा रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय स्थल गुफाडाँडामा ‘जलवायु दिवस–२०८१’ मनाइएको छ ।

मेलम्ची नगरपालिकाको सहयोगमा गुफाडाँडामा वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ, वाग्मती प्रदेशका दुई मन्त्री, जनप्रतिनिधि र जलवायुसम्बन्धी सरोकार राख्नेहरूबीच छलफल गर्दै बुधबार जलवायु दिवस सम्पन्न गरिएको हो । 

०७५ साल १५ पुसमा ७७ वटा जिल्लाका समन्वय समितिका प्रतिनिधि, देशभरका केही जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा गुफाडाँडामा प्रथम जलवायु सम्मेलन भएको थियो । त्यतिबेला निर्मित पृथ्वी उठाइरहेको प्रतिकात्मक सेताम्मे मान्छेको मूर्ति र ७७ वटा झण्डामा हेर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री, वाग्मती प्रदेशका मन्त्रीद्वय वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले जलवायुको असरबारे आवाज उठाएका थिए ।

वाग्मती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षसमेत रहेका जलवायुविज्ञ डा गंगादत्त नेपालले जलवायुले सिंगो जिल्लामा परेको असर र यसबारे हुनुपर्ने अध्ययनका लागि गर्नुपर्ने कामबारे सुझाव दिएका थिए । गुफाडाँडालाई राष्ट्रिय अनुसन्धान केन्द्र बनाइनुपर्नेर्मा पनि उनको जोड थियो । 

यसअघि जिससले आयोजना गर्दै आएको जलवायु दिवस यसपटक आफ्नो क्षेत्रमा पर्ने भएकाले नगरकै बजेटमा निरन्तरता दिएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताए । ‘पर्यटकीय प्रवर्द्धन र जलवायुबारे आवाज उठाउन दिवस मनाइएको हो, यहाँ जलवायुबारे महत्त्वपूर्ण विषय उठेका छन्, यसलाई लिएर माथिल्लो र तल्लो तहमा आवाज उठाउँदै काम गर्ने जमर्को गर्नेछौं,’ उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully