चितवन — नारायणी नदी किनारमा पुस २५ गतेदेखि माघ १० गतेसम्म १५ दिने चितवन महोत्सव हुने भएको छ । आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले चितवन उद्योग वाणिज्य संघले २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । यो १५ औं चितवन महोत्सव हो ।
महोत्सव परिसरमा ४ सय ३० वटा स्टल रहने महोत्सव मूल समितिका संयोजक चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव परिसरभित्र निर्माण सामग्री व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो पनि हुनेछ । चीन, बंगलादेश र पाकिस्तानबाट पनि प्रदर्शक आउने छन् । चिनियाँहरूले २० वटा स्टल दर्ता गरेको अध्यक्ष श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
महोत्सवअन्तर्गत नै नारायणगढ क्याम्पाचौरमा पुस २९ गतेदेखि माघ ४ गतेसम्म परम्परागत खानाको प्रवर्द्धनका लागि फुड फेस्टिभलसमेत हुनेछ ।
महोत्सव १० दिनसम्म आयोजना गर्दै आए पनि अनुभव र दर्शकको चाहनाले गर्दा यस पटक पाँच दिन समय बढाएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव प्रवेश शुल्क सय रुपैयाँ रहेको छ । यो अवधिमा पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी छ ।
‘देशभर आर्थिक मन्दी छ । उद्योग व्यवसाय ४० प्रतिशतमात्रै सञ्चालनमा छन् । अवस्था निराशाजनक छ । यस्ता मेला महोत्सवले सामाजिक र आर्थिक गतिविधका लागि उत्प्रेरणा दिने आशा छ,’ अध्यक्ष श्रेष्ठले भने ।
