चितवनमा गैंडाले आक्रमण गर्दा एकको मृत्यु, पाँच घाइते

पुस १६, २०८१

रमेशकुमार पौडेल

One dead, five injured in Chitwan attack by rhinoceros

चितवन — गैंडाले आक्रमण गर्दा मंगलबार चितवन रत्ननगर नगरपालिकामा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । 

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार निधन हुनेमा रत्ननगर-१६ बस्ने ७० वर्षीया कृष्णकुमारी थापा रहेकी छन् । आक्रमणपछि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।  

त्यसैगरी रत्ननगर-१६ कै ७८ वर्षीय डम्बरबहादुर थापा, रत्ननगर-१४ की ६० वर्षीया मिना गुरूङ र रत्ननगर-१२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोखरेल र पुजन विक घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम छ ।

पोखरेलको सिएमसी शिक्षण अस्पतालमा र अरूको भरतपुरकै सरकारी अस्पतालमा उपचार भइरहेको छ । जंगलबाट बस्ती निस्केको गैंडा बिच्केर स्थानीयलाई आक्रमण गरेको चितवन भरतपुरको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख थिरबहादुर कार्कीले बताए । हाल गैंडालाई निकुञ्ज क्षेत्र तिर पठाएको उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully