८१ वर्षीया चेतकुमारीका दुवै आँखाको ज्योति फर्कियो

पुस १४, २०८१

प्रताप विष्ट

81-year-old Chetkumari regained her eyesight

हेटौंडा — ६ महिनादेखि दृष्टि गुमाएकी रौतहट चन्द्रनिगाहपुरकी ८१ वर्षीया चेतकुमारी देवकोटाका दुवै आँखाको ज्योति फर्केको छ । सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रमुख डा. सुनिल थकालीले आइतबार बिहान उनका आँखाको पट्टी खोलिदिए । उनले सबैभन्दा पहिला आफू सामुन्ने रहेकी बुहारी देवकीलाई देखिन् । 

‘आँखा देख्न पाउँदा मलाई जाँगर बढेको छ । छोराबुहारी–नातिनातिनासँगै संसार देख्न पाउनु भनेको ठूलो कुरा रहेछ,’ उनले भनिन्, ‘दिनरात अन्धकार भएर बस्नु पर्दा सधैं यस्तो होइन्छ कि जस्तो लागेको थियो । भगवानरूपी डाक्टरले आँखा देखाइदिए ।’

बुहारी देवकीले उनलाई मोतियाविन्दुरको शल्यक्रिया गर्न हेटौंडास्थित आँखा अस्पतालसम्म ल्याएकी थिइन् । खेतीपाती र घरको काममा सक्रिय रहेकी चेतकुमारी दुवै आँखा बन्द भएपछि परिवारको सहारामा मात्र आश्रित भइन् ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले शनिबार ३ सय ३० जना मोतियााविन्दुका बरामीको निःशुल्क शल्यक्रिया गरेको थियो । ३ सय २९ जनाको एउटा मात्र आँखाको शल्यक्रिया गरेको थियो भने चेतकुमारीका दुवै आँखाको शल्यक्रिया गरिएको हो । 

मोतियाविन्दुको शल्यक्रिया गरेर दुवै आँखाको गुमेको ज्योति फर्केपछि चेतकुमारी जत्तिकै खुसी थिइन् बुहारी देवकी पनि । सासूले आँखा देखेपछि घरधन्दा र खेतीपातीको काम गर्न सहज हुने उनले बताइन् । उक्त अस्पतालमा शनिबार बारा, पर्सा, रौतहट, महोत्तरी र मकवानपुरका ३ सय ३० मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले बताए ।

मोतियाविन्दुका बिरामी पहिचान गर्न बारा, पर्सा, मकवानपुर, रौतहटका विभिन्न पालिकामा निःशुल्क शिविरमा ३ हजार जनाको परीक्षणमा ३ सय ३० जना मोतियाविन्दुका बिरामी फेला परेका हुन् । उनीहरूलाई शल्यक्रियाको निम्ति हेटौंडास्थित आँखा अस्पतालमा ल्याएर निःशुल्क रूपमा शल्यक्रिया गरिएको प्रबन्धक श्रेष्ठले बताए ।

रौतहटको चन्दनिगाहपुरमा संचालन गरिएको आँखा शिविरमा चेतकुमारीको आँखा जाँच गरिएको थियो । १६ वर्षअघि स्थापना गरिएको सामुदायिक आँखा अस्पताल हेटौंडाबाट अहिलेसम्म झण्डै ९ लाखले सेवा लिएका छन् । अस्पतालले ६० हजार जनाको आँखाको शल्यक्रिया गरेर ज्योति फर्काएको जनाएको छ ।

प्रताप विष्ट

Link copied successfully