काठमाडौँ — वाग्मती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न संघ, प्रदेश र स्थानीय तीन तह मिलेर योजना बनाउनुपर्ने बताएका छन् ।
काभ्रेको पनौती नगरपालिकाको आयोजना र काभ्रे सेवा समाजको संयोजनमा शनिबार सञ्चालित ‘रोशी खोला जलाधार संरक्षण तथा विपद् न्युनिकरणका उपाय’ विषयक अन्तर्क्रियामा उपाध्यक्ष नेपालले विपदबाट प्रभावित क्षेत्रमा विकास आयोजना पुनर्निर्माण गर्न र संरचनाको संरक्षण गर्न स्थानीय तह, प्रदेश, संघ सरकार र निजी क्षेत्रलगायत संघसंस्थाको समन्वयमा योजना निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए ।
प्रदेश नीति तथा योजना आयोगले विपद्पश्चात् प्रभावित क्षेत्रको अध्ययन गरी पोष्ट डिज्यास्टर निड ऐसेसमेन्ट तयार गरेको उनले बताए । उनका अनुसार, पुनर्निर्माणको कामलाई अगाडि बढाउन अध्ययन भइरहेको र जसको मस्यौदा गरिसकेको र त्यसमाथि प्राप्त सुझावलाई समेटेर अध्ययन गरी पूर्णता दिने कामलाई अगाडि बढाइएको छ ।
वाग्मती प्रदेश आयोगले प्रदेशका सबै पालिकाका योजनाहरुलाई प्राथमिकतामा राखेर समेट्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले विपद न्यूनिकरण गर्न अव्यवस्थित रुपमा सञ्चालित खानीहरु व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताए । विपदका घटनामा ‘पानी र खानी’ नै मुख्य कारक रहेको बताउँदै उनले भने, ‘फुलचोकीदेखि नेपालथोकसम्मको रोशी खोलाको जलाधार संरक्षण गर्न आवश्यक रहेको छ, त्यस्तै अव्यवस्थित तथा अवैधरुपमा सञ्चालनमा रहेका खानीका कारण हुने पहिरो र बाढीको जोखिमलाई निराकरण गर्न खानीलाई व्यवस्थित बनाउनुपर्छ ।’
जलवायुमा हुने उतारचढावका कारण जलाधार क्षेत्रको संरक्षण जरुरी भएकाले रोशी, लिलावती, पुन्यमाता खोला बेथानचोकबाट आउने खोला, नमोबुद्ध र रोशी गाउँपालिकाबाट आएका खोलाहरुलाई अध्ययन गरी संरक्षणको योजना बनाउन अति आवश्यक रहेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए । त्यसका लागि पालिकाहरुमा स्रोत कमी भएकाले विकास योजनामा साझेदारी गर्ने संस्थाहरुको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा काभ्रे सेवा समाजका पुरुषोत्तम नेपालले रोशी जलाधार क्षेत्रका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वयात्मक भूमिकाको खाँचो रहेको औंल्याए ।
कार्यक्रममा रोशी खोला जलाधार संरक्षण तथा विपद् न्यूनीकरणका उपायका विषयमा इन्जिनियर सुमन थापा, रमेश गुरागाई, गोपीकृष्ण बस्याल र पुरुषोत्तम नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
