वाग्मती प्रदेशले गौतम बुद्ध रंगशालालाई १० करोड रुपैयाँ उपलब्ध गराउने

पुस ११, २०८१

सुवास विडारी

Wagmati Province will provide Rs 10 crore to Gautam Buddha Stadium

मकवानपुर — वाग्मती प्रदेश सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षको बजेटबाट तत्काल १० करोड रुपैयाँ विनियोजन गर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भरतपुर महानगरपालिकालाई अनुदानबापत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेस गरेको प्रस्तावअनुसार चालु आर्थिक वर्षको बजेट शीर्षकबाट तेस्रो किस्तास्वरूप उक्त रकम उपलब्ध गराउन लागिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए ।

सरकारले यसअघि दोस्रो किस्ताको रूपमा असार २४ गते १ करोड ८० लाख रुपैयाँ भरतपुर महानगरलाई रंगशालाको लागि निकासा गरेको थियो । प्रदेश सरकारले गत आर्थिक वर्षमा पहिलो किस्तास्वरूप ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा महानगरसँग ७५ करोड रुपैयाँबराबरको काम गर्ने गरी सहमति भएको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully