काभ्रे — जिल्लामा सवारी साधनमा राखिएका अनावश्यक स्टिकर, झल्लर, सायरी हटाउन थालिएको छ ।
सवारी साधनको सिसा नजिक राखिएका झल्लर, चुरा, स्टिकर लगायतका सामग्रीहरुले भिजिबिलीटीमा समस्या देखिने हुँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बिहीबारबाट त्यस्ता सामग्री हटाउन अभियान सुरु गरेको हो ।
त्यस्तै, सवारी साधनमा लेखिएका सायरीले सवारी चालकको ध्यान विकेन्द्रित हुने हुँदा सायरी मेटाउन सवारी चालकहरुलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए । उनका अनुसार, अभियानअर्न्तगत पहिलो दिन जिल्लास्थित दोलालघाट, पाँचखाल, खावा, पनौती, भकुण्डे, साँगा लगायतका स्थानमा सवारी जाँच गरी सवारीमा राखिएका अनावश्यक सामग्री हटाउन र सायरी मेटाउनको लागि अनुरोध गरिएको छ ।
‘विशेष गरेर त्यस्ता सामग्रीहरु टिपर, ट्रक, पिकअप, बोलेरो लगायतका सवारीमा राख्ने गरेको पाइएको छ,’ उनले भने, ‘अहिले सबै सामग्रीहरु हटाउनको लागि अनुरोध गरिएको छ, अनुरोधपश्चात् पनि नहटाएमा ट्राफिक नियमअनुसार कारबाही तथा जरिवाना गरिनेछ ।’
