बाढीले क्षतिग्रस्त बनाएको मान्डु हाइड्रो पावरको पुनर्निर्माण तीव्र

आगामी चैत महिनासम्ममा विद्युत् उत्पादन गर्ने

पुस १०, २०८१

प्रताप विष्ट

Reconstruction of flood-damaged Mandu Hydro Power accelerated

हेटौंडा — गत असोज ११ र १२ गतेको अविरल वर्षाले वाग्मती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको मान्डु हाइड्रो पावरको पुनर्निर्माणको काम तीव्र गतिले भइरहेको छ । 

वाग्मती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रो पावरको पुनर्निर्माण कार्य सकेर आगामी चैतसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । हाइड्रो पावरको पुनर्निर्माणका लागि प्राविधिक र कामदार गरेर ९५ जना एक महिनादेखि खटिरहेका छन् । क्षतिग्रस्त पावर हाउसको रेट्रोफिटिङको कार्य भइरहेको छ भने पेनस्टक पाइपको मर्मत एव सुरुङमा पसेको बालुवा र लेदो निकाल्ने कार्य भइरहेको वरिष्ठ प्राविधिक मनोज सिंहले बताए । 'बिहान उज्यालो भएदेखि अबेर रातिसम्म मर्मतसम्भार कार्य गरिरहेका छौँ,' उनले भने ।

बाढीपहिरोले मकवानपुरस्थित भीमफेदी गाउँपालिका-८ वाग्मती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको मान्डु हाइड्रो पावरको हेडवर्क्स, पावर हाउस, पेनस्टक पाइप, विद्युत्को टावर क्षतिग्रस्त बनाएको थियो । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रो पावरमा बाढीले करिब १ अर्बको भन्दा बढी क्षति पुर्‍याएको प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताए । 'वाग्मतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्‍यायो, त्यसको मर्मतसम्भार पनि गरिरहेका छौं,' उनले भने । सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षति पुर्‍याएको थियो । मान्डु हाइड्रोले सडकको मर्मतसम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटो खुलेको छ । वाग्मती नदीमा आएको बाढीले ६०० मिटर पेनस्टकमध्ये सय मिटर पेनस्टक पाइप क्षतिग्रस्त बनाएको थियो । ‘पेनस्टक पाइपको काम पनि भइरहेको छ,’ प्राविधिक सिंहले भने, ‘२ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङमा बालुवा र लेदो पसेर क्षति पुर्‍याएको थियो, बालुवा र लेदो झिक्ने काम भइरहेको छ ।' 

काठमाडौँबाट फोहोर बटुल्दै बगेको वाग्मती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका-८ इपापन्चकन्याको बगरबेंसीस्थित विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै आएको थियो । 

 निजी क्षेत्रको माण्डु हाइड्रो पावर कम्पनी र चाइनिज कम्पनी संयुक्त लगानीमा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गरिएको थियो । सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा माण्डु हाइड्रो पावर कम्पनीले चार अर्बको लगानीमा वाग्मती साना जलविद्युत् आयोजनाको निर्माण कार्य २०७२ जेठबाट सुरु गरेको थियो । २०७५ साल चैत १९ गते उक्त आयोजनाको उद्घाटन गरिएको थियो । वाग्मती र कोगटेको पानी इपापन्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बेयर(बाँध) बनाएर सुरुङमार्फत इपापन्चकन्याको बगरबेंसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत् उत्पादन गर्दै आएको थियो । 

वाग्मतीमा निर्माण गरिएको ५५ मिटर लामो बेयर (बाँध) लाई बाढीले क्षति पुर्‍याएको छ । उक्त बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने गर्छ । वाग्मतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस(विद्युत् गृह) २ हजार ४ सय ४० मिटरको दूरीमा छ । उक्त हाइड्रो पावरको नेपाली प्राविधिक र नेपाली मजदुरहरूबाट सुरुङ खन्ने, बाँध निर्माण,पेनस्टक पाइप जडान गर्ने स्थल निर्माण गरिएको थियो । 

 उत्पादित विद्युत् माण्डु हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४०पैसामा बिक्री गर्ने सम्झौता गरेको थियो । 

 उक्त आयोजनाको पावर हाउसबाट कुलेखानी प्रथमको सबस्टेसन साढे १३ किलोमिटरको दूरीमा रहेको छ । कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पुर्‍याउन ४२ वटा टावर निर्माण गरिएको छ । त्यसमध्ये २ टावरलाई बाढीले क्षतिग्रस्त बनाएको थियो । 'टावरको पुनर्निर्माणतिर अहिले लागेका छैनौँ ,पावर हाउस, सुरुङ, पेनष्टक पाइप र हेडवर्क्सको मर्मत कार्यमा जुटिरहेका छौं,' प्राविधिक सिंहले भने ।

प्रताप

Link copied successfully