मकवानपुर — असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ ।
कुलेखानी भरिएसँगै ओभरफ्लो रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको हेभीखोलाको पुलमा क्षति पुगेको थियो । तत्कालीन समयमा चाडपर्व भएका कारण खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो । हाल उक्त डाइभर्सनबाटै सवारी हेभीखोला वारपार गरिरहेका छन् । ड्यामबाट क्षति पुगेको उक्त पुल तत्कालन सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै प्रदेश सरकारले बेलिब्रिज हाल्ने निर्णयमा पुगेको हो ।
वाग्मती प्रदेश सरकारको विपद् व्यवस्थापन कार्यकारी समितिको वैठकले तत्काल उक्त स्थानमा बेलिब्रिज हाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार भीमफेदी गाउँपालिका-६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर उक्त स्थानमा तत्काल हाल्ने निर्णय बैठकले गरेको छ । माण्डु खोलमा पक्की पुल निर्माण भएसँगै बेलिब्रिज प्रयोगमा आएको छैन ।
‘आगामी वर्षाअगाडि नै उक्त पुल भएको स्थानमा बेलिब्रिज हालिनेछ । त्यसका लागि मन्त्रालयले आन्तरिक तयारी अगाडि बढाइसकेको छ,’ मन्त्री लामिछानेले बताए । मुख्यमन्त्री बहादुरसिंह लामासहित विभिन्न सुरक्षा निकायको प्रमुखसहितको उपस्थितिमा बसेको बैठकले बेलिब्रिजलाई त्यहाँ लैजानका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।
हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो मार्गका रूपमा रहेको फाखेल र सिस्नेरीको बाटो प्रयोग गर्नका लागि यो पुलको महत्त्व रहँदै आएको छ । दैनिक रूपमा यस बाटोमा मोटरसाइकल र साना सवारी गरी करिब ३ हजारभन्दा बढी गुड्ने गरेका छन् ।
इन्द्रसरोवर गाउँपालिका–२ का वडा अध्यक्ष सुमन श्रेष्ठले तत्कालका लागि बेलिब्रिज हालेर सवारी आउजाउमा सहज गरिए पनि दीर्घकालीन समस्या समाधानका लागि पक्की पुलको आवश्यकता रहेको औंल्याए । ‘हेभीखोलामा दीर्घकालीन रूपमा प्रयोग हुने गरी पक्की पुल निर्माण गर्न जरुरी रहेको छ । कुलेखानीको ड्यामबाट हुनसक्ने सम्भावित क्षतिलाई समेत मध्यनजर गरी अब पक्की पुल निर्माण गर्नुपर्छ,’ उनले भने ।
