सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ

पुस ७, २०८१

ज्योती श्रेष्ठ

Son-in-law arrested for murdering mother-in-law

काभ्रे — जिल्ला प्रहरी कार्यालय काभ्रेले सासुको हत्या आरोपमा ज्वाइँलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको मण्डनदेउपुर नगरपालिका-२ का २८ वर्षीय सुकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार,  गत मंसिर ३० गते १८ बजेर २० मिनेटतिर मण्डनदेउपुर-१ गैरीगाउँ घिसिङ टोल बस्ने ५२ वर्षीया तिनमाया तामाङ आफ्नै घरको मझेरीमा मृत फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको आधारमा सुकबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । 

अनुसन्धानका क्रममा सुकबहादुरलाई सासुआमाले काम नगर्ने भनी सधैं गाली गरिरहने र त्यसदिन पनि गाली गरेको भन्दै तीनमायालाई कुटपिट र टाउको थाममा ठोक्काई कर्तव्य गरेको कुरा खुलेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।  

पक्राउ परेका उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully