हेटौंडा — मकवानपुर प्रहरीले १ सय ३७ केजी गाँजा बरामद गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरतर्फ गाँजाको भारी बोकेर गइरहेको अवस्थामा राप्ती खोलामा प्रहरीलाई देखेपछि गाँजाको भारी नै छाडेर भरियाहरु भागेका थिए ।
१०/१२ जनाको समूहमा रहेका भरियाहरुले शनिबार बिहान राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारि बसेको थियो । प्रहरीलाई देखेर भरियाहरु गाँजाको बोरा छाडेर भागेको प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद भएको छ ।
'गाँजाको बोरा छाडेर भाग्नेहरुको खोजी गरिरहेका छौं,' इप्रका मनहरीका प्रहरी अधिकृतले भने । तस्करहरुले राक्सिराङबाट गाँजा खरिद गरेर मनहरी गापाका विभिन्न नाका हुँदै भारततर्फ लैजाने गरेका छन् ।
मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि पुस ६ गतेसम्म ३ हजार ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६९ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 'यस अवधिमा २ जना महिलासहित ६३ जना नेपाली र एक महिलासहित ५ जना भारतीय नागरिक लागूऔषध कारोबारको आरोपमा पक्राउ गरिएको छ,' उनले भने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ केजी चरेस बरामद गरेको थियो ।
