भाइ भेटिएपछि बन्यो नागरिकता
दोलखा — मेलुङका लालबहादुर र शान्तबहादुरले सानो छँदै आमा र बुबा गुमाए । दाजु लालबहादुर घर छाडेर हिँड्दा शान्तबहादुर जम्मा ११ वर्षका थिए । उनका साथमा थिए अर्का भाइ रमेश । त्यति बेला रमेशको उमेर २ वर्ष मात्र थियो । लालबहादुर घर फर्कंदै फर्केनन् । जब शान्तबहादुर १५ वर्षका भए, भाइ रमेशलाई लिएर हिँडे ।
शान्तबहादुर काठमाडौंमा होटलमा भाँडा माझ्थे, भाइको पालनपोषण गर्थे । तर भाइ रमेश पनि ९ वर्षको उमेरमा बेपत्ता बने । शान्तबहादुर विरक्तिए तर गाउँ फर्केनन् । काठमाडौंमा रोजगारी गरेर पेट पाल्न थाले । लालबहादुरले भने काम गर्दै धेरै गाउँ चहारे । अन्तिममा तत्कालीन पवटी गाउँ विकास समितिको एक घरमा उनको बसाइ दिगो भयो । अहिले मेलुङ गाउँपालिका–१ मा पर्ने पवटीका कोसिसमणि न्यौपानेको घरमा उनी बसेको करिब ३० वर्ष भएको छ ।
लालबहादुरसँग नागरिकता थिएन । ‘लालबहादुर अलि सुस्त छन् । बुढेसकालमा सामाजिक सुरक्षा भत्ता पाउँछन् भनेर उनको नागरिकता बनाइदिन खोजेको निकै वर्ष भएको थियो,’ न्यौपानेले भने, ‘उनको ठेगाना थाहा भए पनि आफन्त नभएका कारण सनाखत हुन सकेको थिएन । आफन्त खोज्दै जाँदा लालबहादुरका भाइ छन् भन्ने पत्ता लाग्यो । अहिले उनीहरूको भेट पनि भयो ।’
लालबहादुर अहिले ७० वर्ष टेक्न लागेका छन्, शान्तबहादुर ५५ वर्षका भएका छन् । दाजुभाइबीच ४४ वर्षपछि भेट भएको हो । शान्तबहादुरले सनाखत गरिदिएपछि लालबहादुरको नागरिकता बनेको छ । ‘बालखैमा हामीलाई छाडेर गएका दाइ फर्कन्छन् कि भनेर २/४ वर्ष बाटो हेर्यौं,’ शान्तबहादुरले भने, ‘दाइ नफर्केपछि म पनि भाइ लिएर हिँडें । गाउँ फर्केनौं । लामो समयपछि दाइ भेट्दा खुसी लागेको छ ।’
अर्का भाइ रमेश पनि तीन वर्षअघि भेटिएको शान्तबहादुरले सुनाए । लालबहादुरले भने कान्छो भाइ पनि छ भन्दा अचम्म माने । स्मरण शक्ति कमजोर र सुस्त भएका कारण उनले कतिपय कुरा बिर्सिएको हुन सक्ने शान्तबहादुरले बताए । ‘कान्छाले त दाइ छन् भन्ने सुनेको मात्रै छ । अझैसम्म पत्याएको छैन,’ उनले भने, ‘अब दाइ भेटाउन कान्छोलाई लिएर आउँछु ।’
