हेटौंडामा सडक खाना महोत्सव हुने 

पुस ४, २०८१

कान्तिपुर संवाददाता

A street food festival will be held in Hetaunda

हेटौंडा — अंग्रेजी नयाँ वर्ष–२०२५ अवसरलाई लक्षित  गर्दै हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मकवानपुर होटल एसोसिएसनले आगामी पुस १३ गतेदेखी १६ गते सम्म एघारौं सडक खाना महोत्सव हुन लागेको जानकारी दिएको छ ।  

एसोसिएसनका निवर्तमान अध्यक्ष एंव महोत्सव संयोजक शंकरलाल श्रेष्ठले 'सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ' भन्ने मूल नाराका साथ महोत्सव गरिन लागेको बताए । हेटौंडाको हुप्रचौरको पूर्वतर्फको सडकमा महोत्सव गरिने उनले जानकारी दिए । 'महोत्सवमा करिब ५० स्टल रहन्छन्, स्टल शुल्क ४ दिनको दस हजार लाग्ने छ,' संयोजक श्रेष्ठले भने । महोत्सवमा रैथाने बालीका परिकारका साथै केराका परिकार, नेवारी खाजाका परिकार पाइन्छन् ।  

महोत्सवमा स्थानीय कलाकारको प्रस्तुतl रहनुका साथै विभिन्न डेकोरेटिभ बत्तीद्वारा मेला सझाउने एसोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीले बताए । महोत्सवमा मकवानपुरसहित चितवन, बारा, पर्साबाट पनि अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा मकवानपुर सहकारी अस्पतालबाट आकस्मिक उपचार सेवा प्रदान हुने जनाइएको छ । 

महोत्सवमा करिब ४० हजारले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । विगतको वर्षझैं नयाँ वर्ष लक्षित गरी सडक खाना महोत्सव गर्दै आइरहेकोले साथ सहयोग गर्नुहुन सबैमा अध्यक्ष जोशीले आग्रह समेत गरेका छन् । एसोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एसोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्मा, निर्वतमान अध्यक्ष शंकरलाल श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष एंव एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully