३५ वर्षपछि भीमसेन जात्रा

मंसिर ३०, २०८१

ज्योती श्रेष्ठ

Bhimsen Jatra after 35 years

काभ्रे — काभ्रेको धुलिखेलमा ३५ वर्षपछि भीमसेन जात्रा सञ्चालन गरिएको छ । मार्ग शुक्ल पूर्णिमाको दिनमा मनाइने भीमसेन जात्रा यस वर्षदेखि फेरि मनाउन थालिएको हो ।

परापूर्वकालदेखि नै भीमसेन गुठियारले मनाउँदै आएको भीमसेन जात्रा आर्थिक व्यवस्थापन र विभिन्न समस्याका कारण ३५ वर्षदेखि रोकिएको थियो । कला, संस्कृतिको संरक्षण गर्नुपर्छ भन्दै स्थानीय युवाहरू जुटेर जात्रालाई निरन्तरता दिने उद्देश्यले यस वर्षबाट पुनः सुरु गरिएको हो । यसको संरक्षण र व्यवस्थापनका लागि सिखलापुर युवा क्लब धुलिखेलको सक्रियतामा र धुलिखेलका स्थानीयको सहयोग र समन्वयमा जात्रालाई निरन्तरता दिइएको क्लबका प्रतिनिधि अर्बिन माकजुले बताए ।

स्थानीय ५८ वर्षीय बेकुलाल कपालीका अनुसार, मार्ग शुक्ल पूर्णिमाको अघिल्लो दिनमा धुलिखेलमा रहेका मठमन्दिरमा पूजा गरेर जात्राको सुरुवात गरिन्छ । सोही दिनमै धुलिखेल–७ स्थित भीमसेन मन्दिरमा राँगा बलि दिइन्छ । जात्राका लागि भीमसेनको मूर्ति पूजा गर्न मूलघरमा निमन्त्रणा दिइन्छ । मार्ग शुक्ल पूर्णिमाको दिनमा धुलिखेलमा रहेको भगवती र हरिसिद्धिमा मूल पूजा गरी भीमसेन जात्राको सुरु हुन्छ ।

जात्रामा भीमसेन र द्रवपतिलाई रथमा राखेर धुलिखेल–७ स्थित भीमसेन मन्दिरबाट बजार परिक्रमा गरिने कपालीले बताए । भीमसेनलाई व्यापार देउता पनि मान्ने भएकाले व्यापारीहरूले विशेष आस्था राखेर भीमसेनलाई पुज्ने जनविश्वास रहिआएको छ । धुलिखेल–७ स्थित भीमसेन मन्दिरबाट सुरु भई धुलिखेल–६ स्थित चोच्छेंमा रहेको गणेश मन्दिरमा पुगेर विसर्जन गरिन्छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully