काभ्रे — डाँडा फुटेर चिरा–चिरा परेका छन् । केही घर बाढी/पहिरोले गर्लम्मै ढालेका छन् त केही घर चेपमा छन्, केही घर भने चिरा परेर फाटेका छन् । असोजको दोस्रो साता आएको बाढी/पहिरोले क्षति पुर्याएपछि बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा अहिले यस्तै दृश्य देख्न सकिन्छ । विपद्ले गाउँमा ठूलो पुर्याएपछि यसको पुन:निर्माण गर्नुपर्छ भन्दै बेथानचोकका युवादेखि पाको उमेरका नागरिक अहिले जुटेका हुन् ।
काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलढुंगमा प्रयास नेपालको सहयोग र काभ्रेको बेथानचोक गाउँपालिकाको समन्वयमा विपद्पछिको पुनःनिर्माणका लागि ब्लक बनाउने र ब्लकको प्रयोग गरी घर बनाउने सीपसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
०००
उमेरले ६२ वर्ष अनि सेतै फुलेका दाह्री–कपालले बेथानचोक–२, दर्शनढुंगाका रामकाजी श्रेष्ठको उमेर बुढ्यौलीतिर ढल्कँदै गरेको संकेत गर्छ । माटो निकाल्न उनी कहिले कोदालो चलाउँछन्, कहिले साबेल चलाउँछन्, त कहिले माटोलाई चालेर गाडामा राखेर ओसार्छन् । बुढ्यौलीले छुँदै गर्दा पनि उनमा काम गर्ने जाँगर भने उस्तै छ । डकर्मी/सिकर्मी दुवैको कला भएका उनी यो उमेरमा पनि दुवै काममा सक्रिय छन् । नयाँ–नयाँ सीप सिक्न इच्छा राख्ने उनी गाउँमा ब्लकबाट घर बनाउने सीपसम्बन्धी तालिम सञ्चालन भएपछि उनी सीप सिक्न सहभागी भएका हुन् ।
‘बाढी/पहिरोले गाउँमा पूर्ण रूपमा क्षति पुर्याएको छ,’ उनले भने, ‘यो सीप जानियो भने गाउँको पूनःनिर्माणमा केही सघाउन सक्छु कि भन्ने लागेको छ ।’ निर्माणसम्बन्धी काम पहिलेदेखि गर्दै आएको भएकाले यो सीप पनि त्यस्तै प्रकृतिको अनि अलि नयाँ खालको भएकाले केही नयाँ पनि सिकौं भन्ने लागेर सहभागी भएको छु । यो सीपले बेथानचोकको पुनःनिर्माणमा टेवा पुर्याउने उनी बताउँछन् ।
रामकाजीले निर्माण क्षेत्रमा काम गरेको ४ दशकभन्दा बढी भयो । पुर्ख्यौली सीपको संरक्षण गर्दै उनीसहित उनका ३ छोरा पनि अहिले यही पेसामा छन् । उक्त तालिममा चन्द्रबहादुरका ३ छोरा नै सहभागी छन् । ‘आफूसँग भएको पराम्परागत सीपभन्दा यो सीप अलि फरक अनि नयाँ पनि रहेछ,’ उनले भने, ‘आफूलाई पनि केही सिक्यौं भन्ने लागिरहेको थियो, पुनःनिर्माणका लागि आएको तालिम बुझ्न मात्रै आएको थिएँ, राम्रो लागेर सहभागी भएँ, यो तालिमले गाउँको चाँडै पुनःनिर्माण हुन्छ भन्ने लागेको छ ।’
०००
बेथानचोक–२ का ६१ वर्षीय चन्द्रबहादुर श्रेष्ठले डकर्मीको काम गर्दै आएको ३० वर्षभन्दा बढी भयो । ब्लकबाट घर बन्छ भन्ने कुरा उनले भूकम्पपछि कतै/कतै सुनेका थिए । तर, ब्लक कसरी बनाइन्छ, ब्लकको प्रयोग गरी घर कसरी बनाउने भन्नेबारेमा उनलाई कुनै ज्ञान भने थिएन । यही कुराको ज्ञान लिनका लागि पनि चन्द्रबहादुर, बुढ्यौली उमेरमा पनि ब्लकबाट बनाइने निर्माणसम्बन्धी तालिममा सहभागी भएका छन् ।
तालिममा सहभागी हुँदै गर्दा तालिमबाट आफूले जानेको र बुझेको कुरा बताउँदै उनले भने, ‘हामीले त पहिलेदेखि नै ढुंगा/माटोको घरको काम गर्दै आएका थियौं, पछि/पछि इँटा/बालुवा/सिमेन्टको प्रयोग हुन थाल्यो, तर यो भने अलिकति फरक नै लाग्यो, यसमा ब्लक बनाउनका लागि ३३ प्रतिशत माटो, ३३ प्रतिशत बालुवा र ३३ प्रतिशत सिमेन्ट प्रयोग गरिने रहेछ, अनि १ प्रतिशत पानीको प्रयोग हुने रहेछ, यो सबै सामग्रीलाई मिश्रण गरेर मेसिनमा हालेपछि, साइज अनुसारको ब्लक तयार भएर निस्किने रहेछ, त्यसलाई केही समय घाममा सुकाएपछि निर्माणका लागि प्रयोग गर्न मिल्ने र भएर निस्किने रहेछ, त्यसलाई केही समय घाममा सुकाएपछि, निर्माणका लागि प्रयोग गर्न मिल्नेछ ।’ उनका अनुसार ब्लकको प्रयोगबाट गरिने निर्माणमा लागत पनि कम लाग्ने र छोटो समयमै निर्माण सकिने रहेछ भन्ने कुरा यहाँ सिकेका छौं ।
०००
विपदले गाउँमा ठूलो क्षति पुर्याएपछि यसको पुनःनिर्माण कहिले र कसरी होला भन्ने बेथानचोक–२ का २१ वर्षीय विशाल श्रेष्ठलाई लागेको थियो । पुनःनिर्माणमा आफूले पनि सघाउने उनले सोच बनाइरहेका थिए । तर, कसरी सघाउने भन्ने उनले सोच्न सकिरहेका थिएनन् । गाउँको पुनःनिर्माण गर्नका लागि ब्लक बनाउने र ब्लकको प्रयोग गरी घर बनाउने तालिम सञ्चालन हुँदैछ भन्ने खबर उनले पनि पाए र तालिममा सहभागी हुन उनले आफ्नो नाम दर्ता गराए । ‘यहाँ अहिले सबैभन्दा खाँचो पुनःनिर्माणको रहेको छ,’ उनले भने, ‘तुलनात्मक रूपमा यसबाट बन्ने घर सुरक्षित हुनुका साथै चाँडो पनि बन्ने रहेछ, यो यहाँ पुनःनिर्माणका लागि निकै नै राम्रो हुन्छ भन्ने लागेको छ ।’ उनका अनुसार यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै गाउँको पुनःनिर्माणका साथै यसैलाई आम्दानीको स्रोत पनि बनाउन सकिने रहेछ ।
बेथानचोक–३ सयाँलेका इन्द्र लाल श्रेष्ठले पनि ब्लक बनाउने सीप सिकिरहेका छन् । निर्माण क्षेत्रमा डकर्मी तथा ठेक्काको काम गर्दै आएका उनी यस प्रकारको सीप पुनःनिर्माणको लागि निकै नै प्रभावकारी हुने बताउँछन् । उनका अनुसार, कम लागतमा छोटो समयमा निर्माण कार्य सम्पन्न गर्न सकिने हुँदा तुलनात्मक रूपमा प्रभावकारी हुने देखिन्छ । गाउँको पुनःनिर्माण गर्न पनि आफू तालिममा सहभागी भएको उनले बताए । पछि उनले यही सीपलाई व्यावसायीकरण पनि गर्ने सोच बनाएका छन् ।
बाढी/पहिरोले घरमा पूर्ण रूपमा क्षति पुर्याएपछि बेथानचोक गाउँपालिका–३ स्थित बनेपाली टोलका ४२ वर्षीया नवराज श्रेष्ठ २ महिनादेखि वृद्धाश्रम बस्दै आएका थिए । प्रयास नेपालको सहयोग र बेथानचोक गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको तालिमका सहभागीहरूले बाढी/पहिरोबाट प्रभावित नवराज श्रेष्ठलाई ब्लकको प्रयोग गरी अस्थायी नमुना घर बनाएर प्रदान गर्नेछन् । यस कार्यक्रममार्फत आफूले बासस्थान पाउन लागेकामा उनले खुसी व्यक्त गरे । ‘योभन्दा ठूलो खुसी मेरा लागि अरू के नै हुन सक्छ र ?’ उनले भने, ‘घर बनाउने सीप सिकेर गाउँमा अरू प्रभावितहरूको घर बनाउनका लागि आफूले पनि सहयोग गर्नेमा अरू प्रभावितहरूको घर बनाउनका लागि आफूले पनि सहयोग गर्नेछु ।’
गत बिहीबार माटो दिवस तथा स्वयंसेवक दिवसको अवसर पारेर गाउँपालिकाले तालिमको शुभारम्भ गरेको हो । बेथानचोक गाउँपालिकाको पुनःनिर्माण गर्नका लागि आयोजना गरिएको उक्त तालिममा विभिन्न वडाका २० जना सहभागी छन् । १५ दिनसम्म सञ्चालन हुने उक्त ताालिममा प्रशिक्षक केशव कार्कीले प्रशिक्षण दिइरहेका छन् । भूकम्पपछि पुनःनिर्माणका लागि अधिकांश क्षेत्रमा यस प्रकारको भवन निर्माण गर्ने अभ्यास रहीआएको उनले बताए । उनका अनुसार ब्लकको प्रयोग गरी बनाउने भवन भूकम्पप्रतिरोधी हुनुका साथै सुरक्षित, कम खर्चमा चाँडो समयमा निर्माण गर्न सकिने भएकाले यसको अभ्यास धेरै ठाउँमा हुँदै आएको उनले बताए ।
विपदपछि राहतका लागि विभिन्न ठाउँमा काम गर्दै आएको र बेथानचोक गाउँपालिकामा पुनःनिर्माण गर्नु प्रमुख आवश्यकता भएको कुरालाई मध्यनजर गर्दै ब्लक बनाउने र ब्लकको प्रयोग गरी घर बनाउने तालिमका लागि सहयोग गरिएको प्रयास नेपालकी संस्थापक अध्यक्ष मणि जोशीले बताइन् । ‘अहिले नमुनाका लागि यहाँ एउटा घर बनाइनेछ,’ उनले भनिन्, ‘तालिमका सहभागीहरूले यहाँ सिकेको सीपको प्रयोग गरी गाउँपालिकाको सहकार्य र समन्वयमा गाउँमा अन्य प्रभावितहरूको घर पुनःनिर्माणका लागि काम गर्नुहुनेछ ।’
विपदपछिको पुनःनिर्माणका लागि प्रयास नेपालको सहयोगमा बेथानचोक गाउँपालिकामा सञ्चालन गरिएको यो कार्यक्रम निकै नै प्रभावकारी हुने बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार यो तालिम पालिकाको प्रभावित अन्य वडाहरूमा पनि विस्तार गरिनेछ । ‘तालिमका सहभागीहरूको सीपको संरक्षण तथा प्रवर्द्धन एवं यसलाई व्यवसायीकरण गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग तथा समन्वय गर्नेछ,’ उनले भने, ‘उहाँहरूको यो सीपलाई पुनःनिर्माणमा प्रयोग गरी पुनःनिर्माणको कामलाई तीव्र रूपमा अघि बढाउनेछ ।’
