सिन्धुपाल्चोक — ‘क्यान्सरसँगको लडाइँम शब्दले कलम हतियार बनाइ लडिरहेछु एक्लै असम्भव छ यो युद्धरणभूमिमा म सहयोगी मित्र खोजिरहेछु ।’ यी चोटिला कविता अंशका सर्जक हुन् ‘क्यान्सर फाइटर कवि’का रूपमा चिनिने सुनकोशी गाउँपालिका–१ ठोकर्पा गाउँका ३२ वर्षीय नवराज न्यौपाने ।
अचेल उनी कविताको यही अंश गुनगुनाइरहन्छन् । अंग्रेजीमा अब्बल कवि नवराजले दुर्गम क्षेत्रका विद्यालयमा गएर अंग्रेजी शिक्षक बनी बालबालिकालाई पढाउने लक्ष्य लिएका थिए । उनले त्यही योजना बोकेर स्कुल र क्याम्पसको पढाइमा निकै मिहिनेत गरे । ‘तर, जिन्दगी कहाँ हामीले सोचेजस्तो हुने रहेछ र ? तसर्थ आर्थिक संकट टार्न विदेशिएँ, त्यहाँ एकाएक मलाई रक्त क्यान्सर देखियो,’ न्यौपानेले विगत सम्झँदै भने, ‘आफूसँग थोरै समय मात्रै भएको डाक्टरले बताएपछि आफ्नै देशमा मर्छु भनेर फर्किएको हुँ । अनि मैले कविता लेख्न थालेँ, क्यान्सरले अन्तिम क्षण निम्त्याइरहँदा त्यसबाट माथि उठेर जिउने सोच बनाएँ ।’
यद्यपि, अहिलेसम्म बाँच्नका लागि उनले गर्नुपरेको संघर्ष युद्धभन्दा कम छैन । घर–परिवारका लागि कमाउने सपना पूरा गरेर स्वदेश आएर शिक्षक बन्ने योजना बनाएर उनी २०६७ सालमा मलेसिया उडे । त्यहाँ कपालमा रंग सजाउने सामग्री निर्माण गर्ने कम्पनीमा पाँच वर्ष काम गरे । त्यसपछि नेपाल फर्किएर लक्ष्यतिर लाग्ने सोच्दै गर्दा ०७२ भूकम्प र पराकम्पनले तहसनहस बनाएको देखेपछि तत्कालै उनी साउदी उडे । त्यहाँको एक रेस्टुरेन्टमा तीन महिना काम गरे । त्यसयताका वर्ष लगातार उनले कामको खोजीमा खाडी मुलुक चहार्न पुगे ।
मलेसियामा दुई वर्ष वेयर हाउस, त्यहाँबाट ०७७ सालमा केही समय कुबेतमा कपडा पसलमा काम गरे । कुबेतमा काम गर्ने क्रममा नै उनको शरीरमा विभिन्न समस्या देखा पर्न थाल्यो र उनी बिरामी भए । ‘एकाएक औंला चिसो हुने, चिलाउने, टाउकोको पछाडिको भाग दुख्ने, थकान महसुस हुने, मुखमा काँचो रगतको गन्ध आउनेजस्ता लक्षण देखिने र मूर्छा नै पर्न थालेँ,’ उनले भने, ‘एक दिन उठ्न नसक्ने भएपछि साथीको सहयोगमा कुबेत क्यान्सर केयर सेन्टर (केसीसीसी) मा परीक्षण गर्दा २०७९ चैत १२ गते रक्त क्यान्सर भएको पुष्टि भयो ।’
भारतीय डाक्टरले ‘तपाईंसँग अब नौ महिना बाँकी छ, अन्तिम इच्छा पूरा गर्न थाल्नूस्’ भन्ने कुरा बताएको उनले सुनाए । ‘एकाएक कल्पना नै नगरेको रोग आफूमा देखिएको थाहा पाएपछि म झन् बिरामी भएँ,’ उनले भावुक हुँदै भने, ‘बेडमै केही समय स्तब्ध भएर पल्टिएँ । मर्ता क्या नही कर्ता भनेजस्तै त्यहाँका डाक्टरको सल्लाहमा तीन महिना केसीसीसीमा उपचार चल्यो, नौ महिना मृत्युको दिन निश्चित भए पनि मैले उपचार गराउन कस्सिएँ, मर्नै पर्ने भएपछि प्रयास गरौं न, उपचार पाए केही समय बढी बाँचिन्छ कि भन्ने आशा थियो मलाई ।’
आफूले कमाएको पैसा उपचारको एक छेउमै सकिएको पनि उनले सुनाए । ‘महँगो उपचार अनि साथी, आफन्तको सहयोगमै कतिन्जेल अर्काको देशमा थेगिने ! अनि मर्ने नै भएपछि आफ्नै मुलुकमा मरुँ भनेर ०७९ असार १४ मा नेपाल फर्किएँ,’ उनले भने, ‘घरमा वृद्ध आमा गोमासहित अन्य आफन्त परिवार स्वागतका लागि पुग्दा आँखामा आँसु र खुसी दुवै मिसिएको देखिन्थ्यो ।’ यहाँ आएपछि अधिकांश अस्पतालले भर्ना लिन नमानेपछि चार दिन खुबै सकसमा बिताएको पनि उनले सुनाए ।
अनुप्रस्थ फाउन्डेसनको पहलमा उनी ललितपुरको जावलाखेलस्थित ब्लड एण्ड मल्टिस्पेससिलिटी हस्पिटलमा भर्ना भए । त्यहाँ तीन महिना उपचारकै क्रममा किमो चलाइयो । ‘बोनम्यारो टान्सप्लान्टको कुरा आए पनि मेडिकल रिपोर्टमा ‘डोनर स्पेसिफ एन्टीबडिज’ नमिलेपछि त्यो कुरा अघि बढ्न सकेन । । ‘त्यहीं कुर्दाकुर्दै रोग थप बल्झियो, अब जति बाँचिन्छ किमोकै भरमा हो,’ उनले भने, ‘यो कुरा भएको १९ महिना भयो, यसअघि ०७९ मै कुबेतबाट नौ महिना आयु तोकिएको सम्झिन्छु, अहिले १९ औं किमो सकियो, मेरो आत्मविश्वास र भगवानले मौका दिएकाले जीवित छु जस्तो लाग्छ ।’
नवराजकी आमा गोमाका अनुसार उनी दैनिक बिहान ५ देखि ६ बजेसम्म उठिसक्छन् । अनि सकेको व्यायाम गर्छन् । चिल्लो, पिरो गुलियोबाहेक घरको ताजा खानेकुरा मात्रै खान्छन् । रगतको रिपोर्ट हेरेर मात्रै हिँडडुल गर्छन् । बासी डढेको खाँदैनन् । ‘कुबेतबाट फर्किंदा नै मृत्युको दिन तोकेर आएको छोरो, तर ऊ कविता र गीत लेखेर खुसी भएको र आत्मविश्वास देखेर मलाई अचम्म लाग्छ, मेरो छोरो हिरो हो,’ गोमाले भनिन् । उनका अनुसार नवराज प्रायः एक्लै बस्न रुचाउँछन् ।
उनका आफन्त हरेकृष्ण न्यौपानेका अनुसार नवराजले हालसम्म १९ औं किमो लिइसकेका छन् । जसमा औषधिसहित गरी ६० लाख रुपैयाँ खर्च भइसकेको छ । मासिक ६० हजार खर्च चाहिने भएकाले त्यसयता उनले आफ्नो कृति बिक्री गरेर उपचार खर्च जुटाइरहेका छन् । यिनका सपनाका लहरहरू १ र २ (कवितासंग्रह २०८०), सपनाका लहरहरू ३ र ४ (कवितासंग्रह २०८१) गरी चारवटा कविता संग्रह प्रकाशित छन् । त्यसबाहेक उनका अन्य गीतहरू रुचाइएका देखिन्छन् । बिरामी म, यात्रा अनुप्रस्थले, अप्ठेरो, अघिबढी, रंगीन छाया लगायत गाएका छन् ।
कवि न्यौपानेका ‘साह्रै नै आहा’ र ‘आयौ प्रभु’ मा गायक सुमन राईले संगीत भरेका छन् । क्यान्सरसँग जुधिरहेका उनी कवि, गीत रच्दै ६ महिनाअघि सञ्चालित प्रसिद्ध कार्यक्रम ‘पोइट आइडल’मा समेत सहभागी हुन पुगेका थिए । केही उत्कृष्ट कविता दिएर दर्शक र निर्णायकको मन जिते । ती घटनाका कारण उनले आफ्नो आयु लम्बिएको अनुभव गरेका छन् । ‘अनुप्रस्थ फाउन्डेसन, द बृजसहित अनेकनले पुस्तक प्रकाशन र अन्य विभिन्न कदममा साथ दिनुभएको छ, त्यस्तै अनेकन महानुभवले देशविदेशबाट किमो र उपचारका लागि पुस्तक किनेर सहयोग गरिदिनुभएको छ, म यसका लागि सम्पूर्णप्रति आभारी छु,’ उनले भने ।
‘सपनाका लहरहरू’ शीर्षक कविता लेख्दा स्वास्थ्यकर्मीबाट छोटो समय भएको सुझाव पाएका उनले त्यही सोचेर नै आफ्नो कृतिपछाडि माथिकै कवितांश राखेर प्रकाशनमा ल्याएका थिए । ‘केही समय जीवित रहे अर्को इच्छा छ ‘सपनाका लहरहरू–४’ लेख्ने । मेरो उपचार गाह्रो छ तर असम्भव छैन, बाँच्ने आश मारेको छैन, संघर्ष जारी छ,’ उनले भने । एउटा पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । उनले कृति किनेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
