काठमाडौँ — देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । शनिबार लागूऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियान अन्तर्गत सुर्खेत, पर्सा, कैलाली र सिराहाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनीहरूको साथमा ब्राउनसुगर, चरेश, खैरो हेरोइनलगायतको लागूऔषध भेटिएको थियो । प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १०,चौखेढुङगाबाट करिब ५ ग्राम ५२ मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका २७ वर्षीय निशान्त खत्री र २५ वर्षिय राजन सिग्देल, पर्साको वीरगंज महानगरपालिका १६, शंकराचार्य गेटबाट ४ किलो ३ सय ग्राम चरेशसहित धादिङका २३ वर्षीय दीपेन्द्र दर्जीलाई र सिरहाको कल्याणपुर नगरपालिका-३ ईटाही प्रसाही बस्ने २१ वर्षीय अभिषेककुमार मण्डललाई ४ ग्राम ब्राउनसुगरसहित मोटरसाइकल चेक गर्ने क्रममा प्रक्राउ गरेको हो ।
प्रहरीले कैलाली जिल्लाको फरक-फरक ४ ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । टीकापुर-९ खक्रौलबाट ३ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावल, २ ग्राम ४ सय ७० मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–४ का २७ वर्षीय महेश भट्टलाई र धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय गोपाल रामजालीलाई ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँबाट प्रक्राउ गरेको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका–८ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय ३० मिलिग्रामसहित २ जनालाई पक्राउ गरिएको थियो । सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय मनिष चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । सुरेशको साथबाट १ ग्राम ५ सय ९० मिलिग्राम र मनिसको साथबाट१ ग्राम ८ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
